गणेशमान सिंहका शब्दमा:
“कुनै पनि पार्टीले तयार पार्ने आफ्नो नीति र कार्यक्रम, चाहे त्यो कृषि भूमिसुधार होस् अथवा शिक्षा, स्वास्थ्य र मजदूरका विषय, पार्टीले अंगालेको सिद्धान्तको आधारमा बनाउने हो। त्यस्ता नीति र कार्यक्रममा नेता र कार्यकर्ताहरूका निजी अनुभवले अर्थ राख्दैनन्। काँग्रेसले आफ्नो घोषणापत्रमा मोटामोटी रूपमा सबै विषयलाई समेट्ने प्रयास गरेपनि हाम्रो त्यस बेलाको अर्जुनदृष्टि राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनामा टिकेको थियो। क्रान्तिपछि हामी एकाएक सरकारमा पुगेका थियौँ जसले प्रजातान्त्रिक पद्धतिको जग बसाल्न आवश्यक तयारी गर्नै बाँकी थियो।
आफै बाटो बनाउँदै बढ्नुपर्ने अवस्था भएकाले हामीले नीति र कार्यक्रम मात्र होइन, ऐन, नियम, प्रक्रिया र त्यसका लागि चाहिने संयन्त्र पनि सँगै निर्माण गरिरहेका थियौँ। कृषि आधुनिकीकरण, जोत्ने मोहीलाई मोहीयानी अधिकार दिलाउने जस्ता विषयमा राणा मन्त्रीहरू भाँजो हाल्दैनथे। तर बिर्ता उन्मूलनजस्ता प्रस्ताव आउँदा उनीहरू घुँडा धसेर विरोध गर्थे, किनकी त्यसमा उनीहरूको नीहित स्वार्थ थियो।
बिर्ता प्रथामा राणाहरूको वर्गीय स्वार्थ मात्र होइन, व्यक्तिगत र नीजी स्वार्थ पनि थियो। आफ्नो राजनीतिक अहोदा भाँसिदै गर्दा उनीहरू आफ्नो आर्थिक अहोदा पनि खोसिने डरमा थिए।
गणेशमानको आफ्नै परिवार बिर्ता उन्मूलनप्रति चिन्तित
बिर्ता उन्मूलनको प्रस्ताव राणाहरूले मात्र होइन, काँग्रेसका अरू नेताहरूले पनि विरोध गरिरहेका थिए। काँग्रेसका अधिकांश नेता पनि बिर्तावाल थिए। उनीहरू राणाका बिर्ता त खोसियोस् भन्ने चाहन्थे तर आफ्नो पनि जावोस् भन्ने चाहने सवालै थिएन।
“हामीले बिर्ता नै उन्मूलन गर्न पनि खोजेका थिएनौँ। हाम्रो प्रस्तावित सुधारमा बिर्तालाई रैकरमा परिणत गरेर जमिनदारहरूलाई कर प्रक्रियाभित्र ल्याउने र जग्गा जोत्ने मजदूरहरूको अधिकार सुरक्षित गर्ने कुरा मात्र थियो”. सिंह बताउँछन्।
सिंहको आफ्नै परिवारको जनकपुरमा प्राप्त भएको बिर्ता नै मुख्य आर्थिक श्रोत थियो, र बिर्ता उन्मूलनको कुरा सुनेर उनीहरू पनि चिन्तित हुन थाले।
“खस बिर्ता रैकरमा परिणत गर्न खोजेको प्रस्तावको हल्ला चल्दा काँग्रेसले बिर्तावालको जग्गा लग्छ र परिवार भोकभोकै मर्छन् भन्ने परेको रहेछ”, सिंह बताउँछन्।
सबैतिरबाट विरोध आउँदा नेपाली काँग्रेसभित्रका सबैभन्दा धेरै बिर्ता भएका सुवर्ण शमशेरले बिर्ता उन्मूलन र रैकरमा परिणत गर्ने पार्टीको नीतिलाई प्रवल रूपमा समर्थन गरे। उनको अडानका कारण अरूको विरोध स्वत: मत्थर हुनपुग्यो।
यता कम्यूनिष्ट नेताहरू विश्वस्त थिए कि नेपाली काँग्रेसले धनाढ्यहरूको हितमा मात्र काम गर्छ। यही कुरा उनीहरू किसानमा फैलाउँदै थिए।
“काँग्रेस हुनेखानेको पार्टी हो, कम्यूनिष्ट किसान, मजदूर, र श्रमिक वर्गको पार्टी हो” भन्दै उनीहरू नारा लगाउँदैथे र बिस्तारै जनता उनीहरूको कुरा सुन्न थालेका थिए।
मोहन शमशेर, वी.पी. कोइराला र अरू मन्त्रीहरूको भारत भ्रमण
मोहन शमशेर सिंहदरबार खाली गरिदिएर आफू लक्ष्मी निवासमा सरे पनि उनको राजीनामाको अझै छिनोफानो भएको थिएन। यही समयमा दिल्लीबाट प्रधानमन्त्री र गृहमन्त्रीलगायत अर्थमन्त्री र यातायातमन्त्रीलाई भारत भ्रमणको निम्तो आयो।
त्यही भ्रमणमा भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले वी.पी. कोइरालालाई राणाका मन्त्रीहरूसँग मिलेर काम गर्न र मोहन शमशेरलाई प्रधानमन्त्री नै कायम राख्न सम्झाउन कोसिस गरे। तर वी.पी. कोइराला दृढ थिए कि मोहन शमशेरले राजीनामा दिनैपर्छ। “त्यही समयमा भारतका अखवारले पनि मोहनशमशेरको दृष्टिकोणलाई बढाइचढाइ प्रस्तुत गरिरहेका थिए, जसले हामीलाई केही उपलब्धी भएन”, सिंह बताउँछन्।
नेपालमा भारतीय सरकारले राणा शासनको पक्ष लिएको हल्ला फैलिहाल्यो र यसपछि नेपाली काँग्रेसभित्रै मतभेद चर्किन थाल्यो। “हाम्रो मतभेद चर्केको मात्र होइन, सार्वजनिक नै हुन पुगेको थियो तर हामी आफ्नो काममा त्यसले असर नपरोस् भन्ने चाहिरहेका थियौँ”, सिंह बताउँछन्।
“हाम्रो अन्तरिम सरकारको मुख्य भूमिका नयाँ संविधान निर्माण गर्नु, र चुनाव गराउनका लागि सबै तयारी गर्नु थियो। हामीले आफ्नो ध्यान त्यतातिर नै केन्द्रित गऱ्यौँ।“