भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको नेपाल भ्रमण

भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको नेपाल भ्रमण

“अन्तरिम सरकारका पालामा भएका महत्वपूर्ण घटनामन्ध्ये नेहरूजीको नेपाल भ्रमण पनि हो। नेहरूजी स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री मात्र थिएनन्, एक प्रखर अन्तराष्ट्रिय व्यक्तित्त्व, कल्पनाशील लेखक, इतिहासकार, कला र संस्कृतिविद् तथा संवेदनशील प्रकृतिप्रेमी पनि थिए। नेहरूले २००७ सालको क्रान्तिलाई शान्तिपूर्ण अवतरण गराउन पनि ठूलो योगदान गरेका थिए। उनलाई नेपालसँग जोड्ने मूल तत्त्व प्रजातन्त्र थियो र त्यसैकारण हाम्रो उहाँसँग भावनात्मक सम्बन्ध थियो”, माथवर सिंहद्वारा लिखित गणेशमान सिंहको जीवनकथामा उनी नेहरूको परिचय दिन्छन्।

“तर नेहरूजीको भ्रमण बिबादमुक्त हुन सकेन”, सिंह थप्छन्।

सिंहका अनुसार, काँग्रेसका नेताहरू रूष्ट थिए कि सरकारी पत्रमा प्रधानम्नत्री मोहनशमशेरको आमन्त्रणमा नेहरूले नेपाल भ्रमण गर्ने भनेर लेखिएको थियो।

“यति महत्त्वपूर्ण भ्रमणका लागि निमन्त्रणा दिनुअगाडि क्याविनेटमा राखेर किन छलफल गराइएन?” काँग्रेसका नेताहरूले यही प्रश्न उठाएका थिए।

तर प्रधानमन्त्री मोहन शमशेरले राजा त्रिभुवनलाई दोष पन्छाउँदै आफू दिल्ली जानलाग्दा राजाबाट नेहरूलाई अनुकूल समयमा नेपाल भ्रमणको निम्ता दिएर आउन हुकुम भएकाले निम्ता दिएको बताए। शिष्टाचारवश प्रदान गरिएको निम्ता यति छिटै औपचारिक यथार्थमा परिणत हुन्छ भनेर कल्पना गरिएको थिएन।

“मोहन शमशेरसँग हाम्रो राजनीतिक मतभेद थियो, तर उनले दिएको स्पष्टीकरण शब्दश: सत्य थियो। प्रोटोकल अनुसार परराष्ट्रनन्त्रालयबाट भविष्यका भ्रमण वा निम्ताहरूको विस्तृत रिपोर्ट बनाएर मन्त्रीपरिषदमा पेश गरिन्छ। तर यसपालि भने त्यो गर्ने मौका नै भएन”, सिंह बताउँछन्।

पत्रमा भ्रमणको मिति तोकिएपछि राणा र काँग्रेसका मन्त्रीहरू सबै नेहरूको भ्रमणको तयारीमा जुटे।

राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री नेहरूलाई स्वागत गर्छन्

क्याप्सन: राजा त्रिभुवनले भारतीय प्रधानमन्त्री नेहरूलाई गौचरण विमानस्थलमा (अहिले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल) स्वागत गर्छन् (तस्वीर: बिल्डर औस नेपाल)

“२००८ सालको असारको पहिलो साता, नेहरूजी दिल्लीबाट काठमाडौँ आउँदा बंगालको खाडीबाट मनसुन नेपाल प्रवेश गरिसकेको थियो तर जुन दिन उनी नेपाल आए त्यस दिन पानी परेको थिएन। ठूलो पानी नपरेकाले उपत्यकाका तीनै शहर र काँठका किसानहरूलाई रोपाईमा अल्झिनु परेन। त्यसैले नेहरूजीलाई स्वागत गर्न मानिसहरूको ताँती लागेको थियो”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

“मानिसहरूको भीड गौचरनदेखि काठमाडौँको महाराजगञ्जस्थित शितलनिवाससम्म थियो। नेहरूजीलाई शीतलनिवासमै बस्ने व्यवस्था भएको थियो।“

“भीडमध्ये दिल्ली सम्झौता नेपालको हितविरुद्ध भएको दाबी गर्ने कम्युनिष्टहरू पनि थिए। कालोझण्डा देखाएर प्रदर्शन गर्नेको पनि कमी थिएन, जुन जमातमा टंकप्रसाद आचार्य पनि थिए”, सिंह थप्छन्।

राजा त्रिभुवन र उनका परिवारक सदस्य पनि नेहरू र परिवारको स्वागत गर्न विमानस्थल पुगेका थिए। वास्तवमा प्रोटोकल अनुसार राष्ट्रका प्रमुखले भ्रमण गरिरहेका पाहुनालाई विमानस्थलमा नभई एक औपचारिक स्थानमा मात्र भेट गर्नुपर्ने नियम हुन्छ।

“त्रिभुवनले प्रोटोकल तोडेर यसरी स्वागत गर्नु भारतीय अखवारका निम्ति ठूलो मसला बन्न पुग्यो”, सिंह बताउँछन्।

“उनीहरूले त्यो घटनालाई नेहरूको अग्लो व्यक्तित्व र लोकप्रियताको प्रमाणका रूपमा सबैतिर फैलाए”, उनी थप्छन्।

नेहरूसँग छोरी इन्दिरा गान्धी र नातिहरू – राजीव र संजय गान्धी पनि आएका थिए। विमानस्थलमा, सिंह र नेहरूबीच औपचारिक शिष्टाचार भयो।

सिंह र नेहरूको कुराकानी

नेहरू काठमाडौँ आएका भोलिपल्ट शितलनिवासमा औपचारिक कार्यक्रममा नेहरू र सिंहको कुराकानी भयो।

“के छ सिंह साहव!” नेहरूले सिंहको हात मिलाउँदै सोधे।

“धन्य हो कि तपाईँलाई मेरो नाम याद छ”, सिंहले जवाफ दिए।

नेहरूले खिलखिलाएर हाँसे र भने, “याद कसरी नहोस् र? मैले नगर्नूहोस् भन्दा भनी तपाईँ खुलेआम काम गरिराख्नुभयो र सीतामढीमा जेल पर्नुभयो। तपाईंको रिहाईमा निकै प्रबन्ध गर्नुपरेको थियो।“

“त्यसको लागि म तपाईँप्रति आभारी छु”, सिंहले जवाफ दिए।

“त्यसपछि तपाईँ फेरि नेपालमा पक्राउ पर्नुभयो। मैले त्यहाँ चाहिँ केही गर्न सकिँन तर म तपाईँको खबर सोधिरहन्थेँ”, नेहरूले बताए।

यो कुराकानीपछि नेहरूले आफ्ना नातिहरूलाई सिंहसँग परिचय गराए:

“उहाँ नेपालका महान् रेभोलुसनरी लिडर र मेरा प्रिय मित्र हुनुहुन्छ। उहाँको नाम गणेशमान सिंह हो। हाल उहाँ नेपालका माननीय प्रधानमन्त्री हुनुहुन्छ।”

नेहरूले त्यसपछि इन्दिरा गान्धीतर्फ देखाएर भने, “यिनीसँग त तपाईँको भेट भइसकेको हो।“

“वर्षौअघि, कोइरालाजी र म नेहरूजीलाई भेट्न पर्खिरहेका थियौँ, त्रिमूर्ति भवनको बैठकमा। इन्दिराजी कतै जान लागेकी थिइन् तर हामीकहाँ रोकिएर सोधखोज गरिन्। उनले त्यो भेटको तुरून्त प्रबन्ध गराउन मात्र नभई आफै पनि बैठकमा बसेकी थिइन्”, गणेशमानको इन्दिरा गान्धीसँगको पहिलो भेटको स्मरण गर्दै उनी बताउँछन्।

“त्यसैबेला हो नेहरूजीले नेपाल भ्रमण गर्ने मनसाय देखाएका। कश्मिरी ब्राह्मण कूलमा जन्मेकाले पहाडको सौन्दर्यप्रति उनको ठूलो लगाव थियो।”

“तर जुनबेला उनले त्यस्तो उत्सुकता प्रकट गरेका थिए, त्यस बेला हामी उनलाई बोलाउन सक्ने स्थितिमा थिएनौँ”, सिंह थप्छन्।

२००८ सालको आफ्नो तीन दिनको भ्रमणमा, नेहरूले पशुपतिनाथको दर्शनका साथै उपत्यकाका तीनै शहरका प्राचीन कालाकौशलले सजिएका मन्दिर, दरबार तथा स्मारकहरूको रूचिपूर्वक अवलोकन पनि गरे। स्वदेश फर्कनुअघि उनले हेटौँडादेखि थानकोटसम्म मोटर बाटो, गौचरन विमानस्थललाई आधुनिक तथा अन्तराष्ट्रिय स्तरको बनाउने, र नेपालको शिक्षा र स्वास्थ्यका क्षेत्रमा भारतले विभिन्न प्रकारका सहयोग गर्ने आश्वासन दिए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर