पार्टीभित्र खिचातानी र वी.पी. कोइरालासँग भारतीय राजदूतको असन्तुष्टी
राजा त्रिभुवनले २००७ सालमा प्रजातन्त्र घोषणा गरेर नयाँ सरकार स्थापित भएको ६ महिनामा खुकुरी दल र कम्युनिष्टहरूको अभियानले नेपाली काँग्रेस पार्टीभित्र तनाव बढ्न सुरू भयो।
गणेशमान सिंहका अनुसार धेरैजसो खिचातानी मातृकाप्रसाद कोइरालाको नेतृत्वमा भइरहेको थियो। “उहाँ नेपालबाट राणाहरूको निरंकुश शासन हटाउने क्रान्तिको अगुवाइ गर्ने पार्टीका सभापति हुनुहुन्थ्यो। तर उहाँ त्यतिले खुसी हुन सक्नुभएन”, सिंह बताउँछन्।
“मसँग कुरा गर्दा उहाँले वी.पी. कोइरालाजीको खिलाफ नबोलेर सरकारले यसो गर्न सकेन र उसो गर्न सकेन भनेर भन्नुहुन्थ्यो तर घुमिफिरि ती गुनासो कोइरालाजीमै गएर ठोक्किन पुग्थ्यो”, सिंह थप्छन्।
मातृकाप्रसाद कोइरालालाई महावीर शमशेर, सूर्यप्रसाद उपाध्याय र महेन्द्रविक्रम शाहको पनि समर्थन थियो। झन् भारतीय राजदूतसँगको बढ्दो बसउठले उनी अझै महत्त्वकांक्षी भए।
“भारतले मोहन शमशेरको राजीनामा रोकेपछि स्पष्ट देखियो कि भारतले राणा मन्त्रीहरूलाई विस्थापित गराउन चाहँदैनथ्यो। कोइरालाजी भारत भ्रमण गर्नुहुँदा नेहरूले राजनीतिक स्थिरताको निम्ति मोहन शमशेरलाई प्रधानमन्त्रीको पदबाट नहटाउने सुझाव पनि दिए”, सिंह थप्छन्।
तर वी.पी. कोइराला भने मोहन शमशेरको राजीनामा हुनैपर्ने कुरामा दृढ थिए।
“त्यसमाथि एक पटक कोइरालाजीले सिंहलाई राजदूत चन्द्रेश्वरनारायण सिंहलाई राजदूत भनेको डिष्ट्रिक बोर्डको अध्यक्ष होइन, आफ्नो मर्यादामा रहेर काम गर्ने पद हो भनेर सार्वजनिक रूपमा दोहोलो काट्नुभएको थियो।“
“यसरी सार्वजनिक रूपमा टिप्पणी भएकाले उनी कोइरालाजीसँग असन्तुष्ट थिए”, गणेशमान बताउँछन्।
सिंहले भारत र चीनको कुटनीतिबारे बुझ्दै
“भारत आफै साँढे दुई सय वर्षसम्मको उपनिवेशबाट भर्खरै मुक्त भएको मुलुक भएकाले नेपालले पनि त्यस्तै स्वतन्त्र हुन प्रयास गर्दा बाधा खडा गरेको देखेर त्यसबेला म निकै अचम्मित भएको थिएँ”, गणेशमान माथवर सिंहलाई बताउँछन्।
“तर केही दशकपछि, हामीले त्यसबेला जे अनुभव गरेका थियौँ, त्यसलाईसटिक तरिकाले विश्लेषण गरेको किताब पढ्ने मौका मैले पाएको थिएँ”, सिंह बताउँछन्।
सन् १९७५ मा नेपाल पञ्चायत शासनमा हुँदा नेपालका कैयौँ नेताहरू भारतमा लुकेर बसेका थिए। त्यसबेला सिंह पनि गोरखपुरमा थिए। सोही सालमा भारतमा इमर्जेन्सी लागेपछि उनीहरूको गतिविधि झन् नियन्त्रित हुन पुग्यो। त्यही समयमा सिंहले डेनियल प्याट्रिक मोनिहान्स र नेथन ग्लेजरद्वारा लिखित बियोन्ड द मेल्टिङ पट भन्ने किताब पढ्न पाएका थिए। त्यस किताबमा प्रजातन्त्र अपनाएको भारत र कम्युनिष्ट पार्टीको एक दलीय व्यवस्था अंगालेको चीनको विदेश सम्बन्धको तुलनात्मक अध्य्यनको निष्कर्ष थियो जसले सिंहको पनि आँखा खोलिदियो।
भारतले आफ्नो स्वतन्त्रता पाइसकेपछि आफ्ना छिमेकी राष्ट्रहरूलाई केही सहयोग गरेपनि कालान्तरमा ती देश उसका आलोचक बन्न पुगे। भारतको विदेश मन्त्रालयका अधिकारीहरू सबै बेलायत सरकारको अन्तरगत रहेर काम गरेका र उनीहरूबाटै दीक्षित तथा प्रशिक्षित थिए। त्यसबेला गोरा हाकिमलाई मास्टर र भारतीय सहयोगीलाई सर्भेन्ट भनिन्थ्यो। स्वतन्त्रापछि कुटनीतिक सेवा गर्दा र नीति बनाउँदा सर्भेन्टहरू नै मास्टर हुन पुगे र आफूलाई मालिक ठान्ने प्रवृत्तिलाई उनीहरूले निरन्तरता दिए।
तर चीनमा भने राजवंशबाट परिवर्तन भएर सन् १९४९ मा गणतन्त्र स्थापना भएको थियो। “आफूले थोरै बोलेर अरूका धेरै कुरा सुन्नु चिनियाँ कुटनीतिज्ञका विशेषता बन्नपुगेका थिए“, सिंह बताउँछन्।
यसरी भारत आफ्ना छिमेकी राष्ट्रहरूलाई सजिलै मित्र बनाउने र सजिलै चिढाउने गर्थ्यो भने चीनले कसैलाई मित्र बनाउन नसकेपनि कसैलाई विरोधी पनि बनाउँदैनथ्यो।
सबैतिरबाट दबाब
नेपाली काँग्रेसका मन्त्रीहरूका लागि अवस्था झन् नाजुक बन्दै गयो। दबाब तीनतिरबाट आइरहेको थियो – आफ्नै पार्टीभित्रबाट, सरकरभित्रबाट र बाहिरका विरोधीहरूबाट।
पार्टीभित्रको कचिंगललाई आगो दिने मातृकाप्रसादकोइराला थिए र उनलाई राजा त्रिभुवन र भारतीय राजदूतको समर्थन थियो। मिलेमतोमा बनेको सरकारमा नीतिनिर्माणको प्रक्रियामा पनि अवरोधहरू आउने नै भए। र बाहिरकम्युनिष्ट अभियान र गोर्खा दल पनि दिनप्रतिदिन चर्चामा आउँदै थिए।
सरकारले जनतालाई गरेका वाचाहरू पूरा गर्ने प्रयास गर्दै थियो तर नगण्य मुद्दाहरूमा अल्झेर काम सजिलोसँग अघि बढिरहेको थिएन। त्यही पनि सरकारले न्याय व्यवस्था, र अरू सामाजिक मुद्दाहरू सुल्झाउने जग बसाल्न सक्षम भयो।