प्रधान न्यायलय र नेपाल महिला संघको पहिलो अधिवेशन

प्रधान न्यायलय र हरि प्रसाद प्रधान (नेपालका प्रथम प्रधानन्यायधीश)

सन् १९५१ मा अन्तरिम सरकारले हासिल गरेको महत्त्वपूर्ण उपलब्धीमध्ये एक हो, स्वतन्त्र न्यायलयको स्थापना र प्रधानन्यायधीश हरिप्रसाद प्रधानको नियुक्ति।

गणेशमान सिंह: “प्रजातन्त्र भनेको कानूनी राज्य हो, जहाँ कानुनको दृष्टिमा राजा र रंक बराबर हुन्छन्। त्यसको अनुभूति तब हुन्छ, जब नागरिकले आफूमाथि अन्याय पर्दा त्यसको उपचार खोज्न अदालत जान पाउँछ। नेपालमा त्यस्तो अदालत नै थिएन। देशको विधिको शासन स्थापना गर्नका लागि स्वतन्त्र न्यायलयको स्थापना अनिवार्य आवश्यकता थियो।“

यसरी, सन् १९५१ को जुलाई मा नेपालको अन्तरिम सरकारले प्रधान न्यायलयको विधिवत् उद्घाटना गऱ्यो।

हरिप्रसाद प्रधान दार्जीलिङका थिए र वी.पी. कोइरालाका परिचित थिए। कलकत्ता विश्वविद्यालयबाट कानूनको डिग्री हासिल गरेर प्रधानले लामो समयसम्म कलकत्ता र दार्जीलिङमा वकालत गरेका थिए। त्यस्तो योग्यता र अनुभव भएका नेपालमा कोही नभएकाले उनलाई विशेष आग्रह गरेर नेपाल ल्याउनुपरेको थियो।

“उनले पनि नेपालमा स्वतन्त्र न्याय प्रणाली स्थापना गर्ने काम शून्यबाट शुरू गर्नुपरेको थियो – पूर्वाधारका अभावमा। तैपनि उनले स्वतन्त्र न्यायलयको जुन जग बसाले, त्यसैमा नेपालको वर्तमान न्यायपालिकाको आधुनिक भवन खडा हुन पुगेको छ”, सिंह बताउँछन्।

प्रधानको काम यत्ति प्रशंसायोग्य थियो कि राजा महेन्द्रले दोस्रोपटक पनि उनलाई नै प्रधानन्यायधीश नियुक्त गरे। उनकै कारण नेपालमा महिलाले कानुन व्यवसायमा सामेल हुने बाटो खुलेको पनि मानिन्छ।

Note: नेपालको पहिलो सर्वोच्च अदालत सन् १९५६ मा स्थापना गरियो। सन् १९५१ देखि सन् १९५६ सम्म प्रधान न्यायलयले राज्यको सर्वोच्च अदालतको भूमिका निभायो। हरिप्रसाद प्रधानलाई नेपालको प्रथम प्रधानन्यायधीश (सन् १९५1 – सन् १९५६)को पद दिइयो। राजा महेन्द्रले दोस्रो पटक पनिप्रधानलाई प्रधानन्याधीशको पद प्रदान गरे।

मंगलादेवी र नेपाल महिला संघ

सन् १९५१ को सरकारको पालामा अर्को महत्त्वपूर्ण उपलब्धी भनेको नेपालको महिला संघको केन्द्रीय कार्यालयको स्थापना र पहिलो अधिवेशन थियो।

नेपाल महिला संघको स्थाना २००४ सालमा मंगलादेवीको अध्यक्षतामा भएको थियो। तर सो संघले २००८ सालमा मात्र आधिकारिक मान्यता प्राप्त गऱ्यो।

मंगलादेवी, सहाना प्रधान, साधना प्रधानको नेतृत्वमा महिला संघले क्रान्तिको समयमा काँग्रेसको समर्थनमा राष्ट्रिय सत्याग्रह पनि आयोजना गरेको थियो। महिला संघको पहिलो अधिवेशनले नेपालमा महिलाहरूका राजनीतिक अधिकारको दिशामा पहिलो फड्को मारेको थियो।

नेपालको महिला संघको पहिलो अधिवेशन एक महत्त्वपूर्ण कदम थियो। त्यसबेलाको समाजमा महिलाहरूलाई सभा सम्मेलनमा भाग लिन जान सरकारले भन्दा पनि घर परिवारले रोक्थ्यो। तर महिला संघका सदस्यहरू परिवारको आदेश तोडेर राणाविरुद्धको आन्दोलनमा सहभागी हुने गर्थे, र क्रान्तिकारीहरूलाई विभिन्न किसिमको सहायता दिने गर्थे। र महिला संघको औपचारिक स्थापनाले महिलाहरूलाई आफ्नो राजनीतिक अधिकार प्रयोग गर्न प्रोत्साहन गऱ्यो।

नेपालको प्रजातन्त्र स्थापनामा नेपाली महिलाहरूको भूमिकाको खबर राजदरबारसम्म पनि पुग्यो। त्यसैले राजा त्रिभुवन र उनकी रानीहरू कान्ति राज्यलक्ष्मी र इश्वरी राज्यलक्ष्मीहरूले न्यूरोडको पिपलबोट नजिकै भएको महिला संघको उद्घाटनमा उपस्थिति जनाएका थिए।

राजा त्रिभुवनको आग्रहअनुसार त्यस कार्यक्रमको उद्घाटन जेठी रानी कान्ति राज्यलक्ष्मीबाट भएको थियो।

महिला संघको कार्यालय जनरल सिंह शमशेर राणाले अनुदानमा प्रदान गरेका थिए र सञ्चालनका लागि नगद रू. ६००० प्रदानगरेका थिए।

फूटबल म्याचको घटना र टंकप्रसाद आचार्यको गिरफ्तारी

“सरकारमा हुनु पनि विचित्र हुँदो रहेछ – राणाशासन विरुद्ध लडेर प्रजातन्त्र र परिवर्तनका लागि जीवन अर्पण गरेका नेतालाई हामी आफैँले जेलमा बन्द गर्नपर्ला भन्ने कुरा कहिल्यै नचिताइएको विषय हो”, टंकप्रसाद आचार्यको गिरफ्तारीबारे गणेशमान आफ्नो विचार व्यक्त गर्छन्।

टंकप्रसाद आचार्य र गणेशमान सिंहकोसम्बन्धको इतिहास लामो छ। आचार्य प्रजापरिषदका संस्थापक सदस्य थिए भने गणेशमानले सोही पार्टीबाट आफ्नो राजनीतिक यात्रा सुरू गरेका थिए। सन् १९४० मा दुबै सिंहदरबारमा सँगै कैद गरिएका थिए।

“प्रजापरिषदको नेताका रूपमा मैले अहिलेसम्म पनि आचार्यलाई आदर गर्छु”, सिंह बताउँछन्। “तर, उनको गिरफ्तारी राष्ट्रको सुरक्षाका लागि आवश्यक भइसकेको थियो।“

“टंक प्रसाद आचार्य र नेपाली काँग्रेसको सरकारको एकअर्कासँग सम्बन्ध पहिले नै नाजुक थियो तर एक फूटबल म्याचको कारण उनको गिरफ्तारीको आदेश दिइयो”, सिंह सम्झन्छन्।

सिंहदरबारभित्र भइरहेको एक फूटबल खेलमा रक्षादल (पहिले नेपाली काँग्रेसको क्रान्तिकारी अंग)मा परिणत भएका प्रहरीहरूलाई रेफरी र लाइन्सम्यान राखिएको थियो। टंकप्रसाद आचार्यको एक मोर्चाले रक्षादलका ती रेफ्री र लाइन्सम्यानप्रति धाँधलीको आरोप लगाएर ढूंगामुडा गर्न थाले। युवा दर्शकहरूलाई उत्तेजित तुल्याएर रक्षादलविरुद्ध उतार्नु त्यो षड्यन्त्रको मूख्य उद्देश्य थियो। यही घटनाकै आडमा तोडफोड, लुटपाट र कुटपिट गरेपछि टंकप्रसाद आचार्य गिरफ्तार भएका हुन्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर