चिनियाकाजी तुलाधरको मृत्युमाथिको राजनीति

गणेशमान सिंहका शब्दमा:

२००८ ताका राजनीतिक आन्दोलनहरू झनझन् बढ्न थाले। कम्यूनिष्टहरूको आन्दोलन, गोर्खा दलको जुलुस, र हुँदाहुँदा हाम्रो आफ्नै पार्टीको विद्यार्थी संगठनले पनि आफ्नै सरकार विरोधी आन्दोनल गरिरहेको थियो।

यस्तो बढ्दो आन्दोलनहरूका कारण भर्खर नियुक्त भएको सरकारको काममा निकै अवरोध आइरहेका थिए। फूटबल म्याचमा भएको घटनापछि गृहमन्त्रालयले शान्तिपूर्ण जुलुस निकाल्नअघि स्थानीय प्रशासनसँग स्वीकृति लिनुपर्ने सूचना जारी गरेको थियो। तर त्यही सूचनालाई उनीहरूले सरकार तानाशाह बन्न खोजेको प्रमाणका रूपमा प्रस्तुत गर्दै आन्दोलन जारी राखे।

एकदिन, पुलिसले पूर्वसूचनाबिना निकालेको जुलुसको आरोपमा सातजना जति विद्यार्थी नेताहरूलाई पक्राउ गरेर हनुमानढोका पुलिस थानामा लगेर थुन्यो। पुलिसले नेताहरूलाई पक्राउ गरेर निस्किएपछि, संगठनको एक जनाले फ्रान्सको राज्यक्रान्ति पनि वास्तिलको जेलमा थुनिएका नेताहरूलाई छुटाएपछि सुरू भएको उदाहरण सुनाएर क्रान्तिलाई अर्को कदममा लैजाने कुरा निकाल्यो।

भीडले नयाँ लक्ष्य पायो।

हनुमानढोकामा पुलिसले अपेक्षा नै नगरेको घटना भयो। भीडले अचानक थानामा आक्रमण गऱ्यो र प्रतिकारमा पुलिसले भीड तितरवितर बनाउन गोली चलायो।

भीड तितरवितर पार्न चलाइएको गोली लागेर केही व्यक्ति घाइते भए। घाइतेहरूलाई तुरुन्तै वीर अस्पताल लगियो।

उपचारकै क्रममा घाइतेमध्येका एक विद्यार्थी चिनियाकाजी तुलाधरको निधन भयो।

एक सर्वसाधारणको मृत्युमाथिको राजनीति

गणेशमान सिंहको शब्दमा:

चिनियाकाजीको निधन राति अस्पतालमा भएको थियो। त्यो खबर सुन्नेबित्तिकै कम्यूनिष्टहरूले आफ्नो झण्डा ल्याएर लासमाथि ओढाइदिए। परिवारलाई लास बुझ्न पनि दिएनन्, र उनलाई शहिद घोषित पनि गरिदिए।

अस्पतालमा घाइतेहरूलाई भेट्न जानेको घुइँचो लागेको थियो। त्यो जमातमा भारतीय राजदूत सीपीएन सिंह पनि थिए। उनी भारतका पत्रकारको टोली नै लिएर आएका थिए। त्यसको भोलिपल्टदेखि भारतीय अखबारमा गृहमन्त्री वी.पी. कोइरालाको निरंकुशताका कारण नेपालमा पुलिसले मनपरी मान्छे मार्न थालेको कथा प्रकाशित हुन थाले।

उता प्रधानमन्त्री मोहन शमशेर पनि चिनियाकाजीका परिवारप्रति समवेदना प्रकट गर्न पुगिसकेका रहेछन्।

चिनियाकाजीको मृत्युको भोलिपल्ट उज्यालो हुन नपाउँदै वीर अस्पतालमा भीड जम्मा भइसकेको थियो। अझ केही अप्रिय होला भन्ने डरले त्यस दिन मन्त्रीमण्डलको विशेष बैठक बोलाइयो।

राणाका मन्त्रीहरू र काँग्रेसका मन्त्री वी.पी. कोइरालाको विपक्ष र पक्षमा विवादमा परे।

राजा त्रिभुवनले दुवैको कुरा सुनेपछि चिनियाकाजीको लास परिवारलाई सुम्पिएर शान्तिपूर्वक तरिकाले यो समस्याको हल गर्ने आदेश दिए।

अर्को दिन, जुलुसलाई उत्तेजित बनाउने केहीको प्रयासका बाबाजुद चिनियाकाजीको दाहसंस्कार शान्तिपूर्वक नै भयो।

वी.पी. कोइरालाको राजीनामाको घोषणा

एक दिन, वी.पी कोइरालाले गणेशमान सिंहलाई आफ्नो कक्षमा बोलाए र गृहमन्त्री पदबाट आफूले राजीनामा दिने निर्णय लिएको कुरा सुनाए।

भर्खर सामना गर्नुपरेको समस्यलाई सम्झँदै त्यसो भनेका होलान् भन्दै गणेशमानले सामन्य रूपमा प्रतिक्रिया दिए:

“तपाईँ हाम्रो नेता, तपाईँले नै छाड्नुभयो भने हामी पनि छाड्छौँ।“

कोइरालाले गणेशमानको जवाफ सुनेर भने:

“त्यसो होइन गणेशमानजी, तपाईँले मेरो कुरा हलुकाले लिनुभयो। बडो सोचविचार गरिकन म यो निष्कर्षमा पुगेको हुँ। अझै म त्यसपछिको परिस्थितिको आंकलन गरिरहेको छु। सरकारमा हुँदा आफ्नै पार्टीको सहयोग नपाउने भएपछि हामीले केही गर्न सक्तैनौँ। हामीले पार्टी खडा देशमा आमूल परिवर्तन ल्याउन, आर्थिक विकास गर्न र जनताको जीवनस्तर उठाउन गरेका हौँ। प्रजातन्त्रलाई स्थिरता दिन हामीले निर्णय लिनै पर्छ।“

“म सुवर्णजीसँग पनि कुरा गर्छु, त्यसपछि पार्टीमा घोषणा गरौँला”, कोइरालाले थपे।

यसो भनेपछि गणेशमान कोइरालाको निर्णयमा विश्वस्त भए।

त्यसपछि कोइरालाले पहिले पार्टीमा अनि राजालाई आफ्नो राजीनामाको जानकारी दिए।

त्यसबेलाको सरकार संयुक्त सरकार भएका कारण एक पक्षले राजीनामा गरे अर्को पक्षले पनि सरकार छाड्नुपर्ने भयो। यसरी २००८ को काँग्रेस र राणाहरूको संयुक्त सरकार भंग भयो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर