सिंहको पहिलो सन्तान, र मन्त्रीको पदमा पुन: नियुक्ति

काँग्रेस वी.पी. कोइराला र मातृकाप्रसाद कोइरालाबीच विभाजित

२००८ सालमा राणा र काँग्रेसको संयुक्त सरकार भंग भएपछि, नयाँ सरकारको गठन गर्ने प्रक्रिया सुरू भयो। सबैभन्दा पहिले प्रधानमन्त्रीको पदको नियुक्ति हुनु आवश्यक थियो।

यसका लागि काँग्रेसको केन्द्रीय समितिको बैठक बस्यो।

बैठकमा, कृष्णप्रसाद भट्टराईले वी.पी. कोइराला नै प्रधानमन्त्री बन्नुपर्छ भन्ने प्रस्ताव प्रस्तुत गरे।

“नेपाली काँग्रेसको निर्माण, संगठन, विस्तार, क्रान्तिको परिकल्पना, योजना, तयारी र संचालनदेखि निर्णायक स्थितिमा पुऱ्याउन हामी सबैलाई उत्प्रेरित गर्ने वी.पी. कोइरालाजी नै हो। त्यसैले काँग्रेसको एकमना सरकारको नेतृत्व पनि उहाँले नै गर्नुपर्छ”, भट्टराईले तर्क गरे।

तर उहाँको तर्कसँग सबैजना सहमत थिएनन्।

सहमत नहुनेमा महावीर शमशेर पनि थिए। उनले मातृकाप्रसाद कोइरालाको पक्ष लिँदै भने, “मातृकाबाबुको व्यक्तित्व समन्वयकारी भएकाले वर्तमान चुनौतीपूर्ण स्थितिको सामना गर्न राजा, भारत, राणाका साथै टंकप्रसादजी र कम्यूनिष्टको पनि सहयोग जुटाउन उहाँले सक्नुहुनेछ।“

वी.पी. का पक्षमा भएकाहरू जसरी पनि उनलाई नै प्रधानमन्त्री बनाउनुपर्छ भनी अडान लिरहेका थिए। तर मातृकाप्रसादको पक्षमा हुनेहरूसँग यो विवाद अन्त्य गर्ने ठूलो अस्त्र बाँकी थियो – नेहरूले राजा त्रिभुवनलाई लेखेका पत्र जसमा वी.पी.लाई प्रधानमन्त्री नबनाइयोस् भनेर आग्रह गरिएको थियो।

राजा त्रिभुवनलाई नेहरूको पत्र

तस्वीरमा: काठमाडौँमा वी.पी. कोइराला, राजा त्रिभुवन, मातृकाप्रसाद कोइराला र नेहरू (तस्वीर: बिल्डर अस नेपाल, वि.सं. २००८)

“भूराजनीतिको वाध्यात्मक यथार्थ हामीले भोगिरहेका थियौँ। आफ्नो विचार जेजस्तो भएपनि राष्ट्रको दीर्घकालीन हितका लागि काम गर्नैपर्ने हुन्छ”, नेहरूले राजा त्रिभुवनलाई लेखेका पत्रबारे गणेशमान बताउँछन्।

नेहरूले राजा त्रिभुवनलाई वी.पी.लाई प्रधानमन्त्री नबनाइयोस् भनेर आग्रह गरेर पत्र लेखेका छन् भन्ने कुरा महावीर शमशेरले निकालेपछि त्यसको प्रमाणीकरण गर्न केही व्यक्ति त्रिभुवनको दरबार पुगे।

त्रिभुवनले पनि बेहिचक उनीहरूलाई त्यो पत्र देखाए जहाँ लेखिएको थियो “वी.पी. कोइरालालाई प्रधानमन्त्री बनाउनुभयो भने भारत सरकारलाई नेपालसँग मिलेर काम गर्न र सहयोग जारी राख्न अप्ठेरो हुनेछ।”

यो पत्र देखिसकेपछि सबै पार्टीका सदस्यहरूले मिलेर काम गर्नुपर्ने नै सबैभन्दा उपयुक्त हुने देखे र मातृकाप्रसाद कोइरालालाई नेपालको प्रधानमन्त्रीको पदमा सिफारिस गरे।

यस सिफारिस पत्र लिएर मातृकाप्रसाद राजदरबार गएको आधाघण्टाभित्र प्रधानमन्त्री पदमा नियुक्त भएको लालमोहर लागेको पत्र लिएर फर्किए।

त्यस घटना २००८ साल कार्तिक २८ गतेको दिन भएको थियो।

त्यसै दिन मातृकाप्रसाद कोइरालाको नेतृत्वमा मन्त्रीमण्डलको घोषणा र शपथग्रहण कार्यक्रम मंसिर १ गते गर्ने निश्चित भयो।

सिंहको पहिलो सन्तान, र मन्त्रीको पदमा पुन: नियुक्ति

तस्वीरमा: काठमाडौँमा गणेशमान सिंह र परिवार।

त्यस समय गणेशमानलाई हाइड्रोसिलको समस्या थियो। वीर अस्पतालका डक्टरले उनलाई कलकत्ता गएर अपरेसन गर्ने सुझाव दिएका थिए। सरकार भंग भएपछि केही समय पाउने बित्तिकै सिंहले अपरेसन गर्न कलकत्ता जाने निर्णय लिए।

काठमाडौँ छाड्नुअघि उनले मातृकाप्रसाद कोइरालालाई भेटेर बन्ने नयाँ मन्त्रीमण्डलमा आफ्नो नाम समावेश नगरिदिन आग्रह गरे किनकि उनलाई पार्टीमा नै काम गर्ने इच्छा थियो।

कलकत्तामा अपरेसन सकिएको भोलिपल्ट बिहानै उनको परिवारबाट फूलको गुच्छा र मिठाइको डब्बा आइपुगेको थियो। मातृकाप्रसादलाई भन्दाभन्दै पनि मन्त्री पदमा नियुक्त गरेछन् भन्ने उनले ठाने।

तर उनको अनुमान मिलेको रहेनछ भन्ने कुरा थाहा पाउन उनलाई धेरै बेर लागेन।

उता काठमाडौँमा मंगलादेवीले गणेशमान र मंगलादेवीको पहिलो सन्तान रीतालाई जन्म दिएकी रहिछ्न्।

“उनले छोरीलाई जन्म दिइन् भन्ने सुन्नेबित्तिकै मलाई छोरीको बाबु हुने त्यो सौभाग्य प्रदान गर्ने उनलाई मैले मनमनै धन्यवाद दिएँ”, सिंह बताउँछन्।

“अचानक, मलाई छोरीको मुख हेर्ने हतारले काठमाडौँ फर्कने इच्छा भयो तर अस्पतालमा अझ दुई दिन बस्न बाँकी नै थियो”, सिंह थप्छन्।

त्यसको केही समयमा अस्पतालमा अर्को खबर आइपुग्यो – उनी पुन: मन्त्रीपदमा नियुक्त भएका थिए।

त्यस दिन र आफ्ना सन्तानको जन्मलाई सम्झँदै सिंह भन्छन्:

“नियतिले मलाई यस्तो विचित्रको संयोग प्रदान गरेको छ कि मेरा तीन छोरीहरू – रीता, कान्ता र मिता र दुई छोराहरू – प्रदीपमान र प्रकाशमानको जन्मको खबर मैले अरूबाटै सुन्नुपरेको थियो। त्यस्तो अवसरमा आफ्नो घरमा रहने सुयोग मलाई कहिलै मिलेन। या त म विदेश गएका बेला अथवा स्वदेशकै जिल्ला भ्रमणमा रहेका बेला उनीहरूको जन्म भएकाले मंगलादेवीको साथमा रहन नसकेको हुँ। यद्यपि उनले त्यसको गुनासो कहिलै गरिनन्, परिवारले पनि सहयोग गरिरहन्थे। तर पनि आफ्नो सामान्य पारिवारिक कर्तव्य पनि पूरा गर्न नसकेको अफसोचले लगारिरहन्छ।“

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर