नयाँ घरको आवश्यकता
जुन बेला गणेशमानकी छोरी रीताको जन्म भयो, सिंहलाई नयाँ घरको आवश्यकता महसुस हुन थाल्यो।
“पहिले म फिरन्ताको जीवन बिताइरहेको थिएँ। भाइ शंकरमान पनि अध्ययनका लागि बनारसमा थिए। त्यसैले घर खालि नै थियो। तर प्रजातन्त्र आएपछि म पनि घर फर्किएँ र शंकरमान पनि – पाहुनापासाको लर्को लाग्न थालेपछि घर साँघुरो महसुस भयो। झन् रीताको जन्म हुँदा मुख हेर्न आउने पाहुनालाई राख्ने ठाउँ पनि थिएन”, गणेशमान माथवर सिंहलाई बताउँछन्।
गणेशमानलाई एउटा घर नखोजि सुखै नपाउने स्थिति भयो।
एक दिन इन्द्रभक्तले सिंहलाई क्षेत्रपाटीको जेपी स्कूलदेखि उत्तरतिरको एउटा खालि बंगलाबारे बताए।
“त्यो घर बहादुर शमशेरको हो, बेच्न खोजेका छन् भन्ने पनि सुनेको छु, कुरा चलाउँ?”, इन्द्रभक्तले सोधे।
“बहादुर शमशेरलाई घर बेच्नुपर्ने अवस्था भएको चाहिँ होइन रहेछ। उनले त्यो बंगलाबाट छुटकारा पाउन खोजेका रहेछन्। आफ्नी प्रेमिकालाई क्षयरोग लागेकाले उनलाई राख्न उनले त्यो बंगला खरीद गरेका रहेछन्। प्रेमिकाको निधनपछि बंगला खालि नै भएकाले, मानिसहरूले त्यसलाई ‘भूतबंगला’ पनि भन्ने गरेका रहेछ्न्”, सिंह बताउँछन्।
सिंहले इन्द्रभक्तलाई बहादुर शमशेरसँग बंगलाबारे कुरा राख्न आग्रह गरे।
बहादुर शमशेरले १२ रोपनी जग्गा भएको कम्पाउण्डसहितको बंगलाको मूल्य ४५ हजार तोकिदिए।
घर खरीद गर्न पैसा जुटाउँदै
घर फेला परेपछि, सिंहलाई दुईवटा समस्या पऱ्यो – एक, परिवारलाई भूतबंगलामा सर्न रिझाउनु र दुई, घर खरीद गर्न पैसा जुटाउनु।
“आमा, मंगलादेवी र भाइबुहारी कसैलाई पनि घर मन परेन। त्यसबेला ठमेलको त्यो भागमा जताततै सिस्नोको घारीबाहेक वरिपरि घर थिएनन्। बजारदेखि टाढा भएकाले पनि उनीहरूलाई त्यहाँ अनकण्टार लाग्यो”, सिंह बताउँछन्।
“दोस्रो समस्या पैसा जुटाउनु थियो। आमा र मंगलादेवीको गहना बेचेर पैसा आउन सक्थ्यो। तर उनीहरूलाई घर नै मन नपरे कसरी गहना बेचेर किन्ने कुरा गर्न सकिन्थ्यो र?”, सिंह आफ्नो समस्या बताउँछन्।
तर घरको साँघुरोपनको अप्ठेरोले गर्दा समय बित्दै गएपछि सिंहका परिवारले पनि क्षेत्रपाटीको घर खरीद गर्न राजी भए।
सिंहकी बज्यैले दिएकी आधा दर्जन सुनका चुरा, सिंहकी आमाले दिएकी अर्को आधा दर्जन सुनका चुरा र हीराको सेट, मंगलादेवीले दिएकी सिक्री बेचेर गणेशमानको हातमा १०-१२ हजार पऱ्यो।
पैसा अपुग भएपछि गणेशमानको परिवारले किलागलको घर एक साहुलाई दस वर्षका लागि एकमुष्ट दस हजारमा दिने निर्णय लियो। अनि बाँकी रकम तेजारथको अड्डाबाट सापटी लिन मिल्थ्यो।
यसरी गणेशमानले घर खरीद गर्न पैसा जुटाए।
राजा त्रिभुवनले आर्थिक सहयोग गर्ने प्रस्ताव राखे, गणेशमानले अस्वीकार गरे
सबै रकमको बन्दोवस्त भएपछि अचानक एकदिन राजदरबारबाट गणेशमानलाई फोन आयो। राजा त्रिभुवनले उनलाई साँझ खाना खान बोलाएका रहेछन्। सिंहले स्वीकार गरे र साँझ तोकिएको समयमा दरबार पुगे।
सिंहलाई राजाको बैठकमा लगियो। एकैछिनमा त्रिभुवन पनि आइपुगे।
“म्नत्रीजी, अपरेसन गराएर आउनुभयो, अहिले स्वास्थ्य कस्तो छ?”, त्रिभुवनले सोधे।
“ठिक छ सरकार, अपरेसन सामान्य थियो”, सिंहले जवाफ दिए।
“एन्टिवायोटिक खाँदै हुनुहुन्छ कि सिद्धियो?”
“एक साताको कोर्स थियो। सकिसक्यो।“
“ल राम्रो भयो, आज तपाईँसँग बसेर पिउन पाइने भयो”, राजाले हाँसेर भने।
तुरुन्तै दुईजनाले व्हीस्की, सोडा, पानी र आइस राखिदिएर गए। तेस्रो व्यक्तिले ड्राइफूडको सेट ल्यायो।
“राजा त्रिभुवन राम्ररी नेवारी बोल्दथे”, सिंह बताउँछन्। “एक अर्कासँग हामी नेवारी नै बोल्ने गर्थ्यौँ। त्यस दिन पनि उनैले नेवारीमा संवाद सुरू गरे।“
दुई पेगपछि कुरैकुरामा त्रिभुवनले सिंहलाई घरबारे प्रश्न गरे।
“तपाईँले नयाँ घर किन्न लाग्नुभएको भन्ने सुनेको छु। पाउनुभएको हो?”, त्रिभुवनले सोधे।
“हो सरकार! क्षेत्रपाटी र ठमेलको बीचमा एउटा घर खालि रहेछ, त्यही लिने विचार गर्दैछु”, सिंहले जवाफ दिए।
“सारै राम्रो गर्नुभयो। तपाईँ मन्त्री मात्र होइन, देशको ठूलो नेता पनि हो। तपाईँलाई एउटा गतिलो घर चाहिन्छ। यसो गर्नोस्, म तपाईँलाई दुई लाख रूपियाँ पठाइदिन्छु। त्यसले तपाईँको समस्या टरिहाल्छ”, त्रिभुवनले प्रस्ताव राखे।
सुनेर सिंहले मनमनै सोचे, “यो ठकुरीले मलाई किन्न पो खोजेको हो कि बा!”
प्रतिक्रियामा सिंहले भने, “सरकारले पैसा पठाउने कष्ट गरिबक्सन पर्दैन, किनभने मैले घर लिन चाहिने पैसा बन्दोवस्त गरिसकेको छु।“
गणेशमानको अप्रत्याशित जवाफ सुनेर राजा त्रिभुवनको अनुहार एकाएक रातो भयो। तैपनि हाँस्ने प्रयास गर्दै राजाले भने, “तपाईँले माइण्ड गर्नुभयो जस्तो छ। तपाईँले देश र हामीमाथि लगाउनुभएको ऋण तिरेर तिर्न सकिँदैन। मैले त त्यसको भार अलिकता मात्र हल्का गर्न खोजेको हुँ। तर तपाईँलाई त्यो नचाहिने रहेछ, राम्रो भयो।“
आफूले त्यस्तो नठानेको प्रष्ट पारेपछि दुवै सँगै उन्मुक्त भएर हाँसे। केही छिनमा गणेशमानले राजासँग बिदा मागेर निस्किए।
त्यसको केही दिनपछि सिंहले आफूले बन्दोवस्त गरेको पैसा तिरेर घरको नामसारीको प्रक्रिया सकाए।
“यसरी म पहिलोपटक घरधनी बन्नपुगेको हुँ”, सिंह बताउँछन्।