सिंह दोश्रो पटक मन्त्री पदमा नियुक्त र रक्षा दलको क्रान्ति

सिंह दोश्रो पटक मन्त्री पदमा नियुक्त

२००८ साल मंसिर १ गते गणेशमान सिंह मातृकाप्रसाद कोइरालाको मन्त्रीपरिषद अन्तर्गत मन्त्रीको पदमा नियुक्त भए। पहिले उद्योग तथा वाणिज्य मन्त्री सिंहले दोश्रोपटक कृषि, भूमि तथा खाद्यमन्त्री भएर मन्त्रालय सम्हाल्नुपर्ने भयो।

“मातृकाबाबुको नेतृत्वको सरकारमा यद्यपि केशर शमशेर, शारदा शमशेर, महावीर शमशेर राणा परिवारबाट थिए, तथापि प्रधानमन्त्रीका साथै बहुसंख्यक मन्त्रीहरू काँग्रेसका भएकाले जनताको नजरमा यो नेपाली काँग्रेसकै सरकार थियो”, सिंह बताउँछन्।

“तर अन्तरिम शासन विधान नामको संविधान लागू भए पनि त्यस अनुसारको ऐन र नियम बनिसकेका थिएनन्। प्रजातान्त्रिक शासन व्यवस्थाको अभ्यास भएको छोटो अवधिमा सरकारले प्रजातन्त्रका आदर्श र सिद्धान्तका आधारमा बनेको नीति तथा कार्यक्रम लागू गराउने स्थिति बनेकै थिएन”, उनी थप्छन्।

के.आई. सिंह र रक्षा दलको क्रान्ति

डा. के.आई. सिंह नामले प्रख्यात कुँवर इन्द्रजीत सिंह, नेपाली राजनीतिज्ञ र क्रान्तिकारी नेता थिए। उनी नेपालका १९औँ प्रधानमन्त्री पनि हुन्। राणा शासन विरुद्धको २००७ सालको क्रान्तिमा उनले ठूलो भूमिका खेलेका थिए, तर, राणा, राजा त्रिभुवन र नेपाली काँग्रेसबीच दिल्लीमा भएको सम्झौतालाई बहिस्कार गरेर उनी काँग्रेसबाट छुट्टिएका थिए।

युद्धविराम गर्ने पार्टीको आदेशको अवज्ञा गरेर भैरहवामा आयोजना गरेको असफल आक्रमणपछि के.आई. सिंहलाई पक्राउ गरेर काठमाडौँ ल्याइएको थियो।

दिल्ली सम्झौताको विरुद्ध लडिरहेका अर्का नेता रामप्रसाद राईलाई२००८ सालको माघमापक्राउ गरेपछि रक्षा दलले विद्रोहको योजना बनायो। त्यही योजना अनुरूप रक्षा दलका सदस्य सिंहदरबार पसेर के.आई. सिंह र रामप्रसाद राईलाई बन्दी अवस्थाबाट छुटाएर विद्रोहको नेता बनाए।

त्यसको भोलिपल्ट बिहानै गणेशमान सिंहलाई उनको घर घेरा हालेर बसेका रक्षादलका सदस्यहरूले के.आई. सिंहले सिंहदरबार बोलाएका छन् भनेर लिएर गए।

सिंहदरबार पुगेपछि के.आई. सिंहले गणेशमानलाई राजा त्रिभुवनसँग वार्ता गर्ने मध्यस्थकर्ताका रूपमा उनको प्रतिनिधित्व गर्न आग्रह गरे।

गणेशमानका अनुसार के.आई. सिंहको मुख्य माग गोर्खादलबाहेक अरू दलको सर्वदलीय सरकार थियो।

“हाम्रो विद्रोह सरकारका विरुद्ध हो, राजाको विरोधमा होइन”, के.आई. सिंहले गणेशमानलाई सन्देश पठाए।

तर, आश्चर्यको कुरा भने, के.आई सिंहको कुरा राजालाई सुनाएर फेरि फर्किनु अघि नै के.आई. सिंह र रामप्रसाद राई सिंहदरबारबाट भागिसकेका रहेछन्।

मन्त्रीहरू र मातृकाप्रसाद कोइरालाबीच मतभेद

रक्षादलको विद्रोहको मध्यस्थकर्ताको भूमिका निभाइरहेका गणेशमान के.आई. सिंह भागेको खबर पाएपछि अचम्ममा परे। तर पछि उनले थाहा पाए कि राजा त्रिभुवन र प्रधानमन्त्री मातृकाप्रसाद कोइराला भारतसँग सम्पर्कमा रहिरहेका र विद्रोहलाई नियन्त्रणमा ल्याउन भारतीय सेना परिचालन गर्ने योजना बनाइरहेका रहेछन्।

यही खबर पाएर के.आई. सिंह ज्यान जोगाउन भागेका रहेछन्।

“त्यो घटनाले नेपालको आन्तरिक राजनीतिमा प्रत्यक्ष प्रभाव पाऱ्यो। भारतले झनझन् आन्तरिक मामिलामा हस्तक्षेप गर्न थाल्यो”, सिंह बताउँछन्।

“यस घटनापछि नेपाली सेनालाई हतियार र तालिम दुवैको आवश्यकता देखिएको थियो, र भारतले सो सहयोग गर्ने प्रस्ताव राख्यो। तर यसद्वारा नेपालमा भारतको सैनिक मिसन बोलाइयो जसले नेपालको शक्ति सन्तुलमा निकै ठूलो फेरबदल ल्यायो।“

“मातृकाबाबुले पनि राजा र भारतीय राजदूतको परामर्शलाई प्राथमिकता दिएर पार्टीका नीति र परिवर्तनका एजेण्डालाई पन्छाउन थाल्नुभयो। उहाँले राजालाई राज्यशक्तिको श्रोत र भारतलाई संरक्षक मानेर पार्टीले गरेको क्रान्तिका कारण आएको परिवर्तनलाई पटक्कै बिर्सिनुभयो”, सिंह थप्छन्।

वी.पी. कोइरालाले पनि पार्टी सभापति र प्रधानमन्त्री एउटै व्यक्ति हुनुहुन्न, त्यसबाट निरंकुशता जन्मन्छ भनिरहन्थे। चेक एण्ड ब्यालेन्सका लागि पनि त्यो अपरिहार्य भएको उनको मान्यता थियो। तर मातृकाप्रसादलाई त्यो स्वीकार्य भएन।

अन्तत: नेपाली काँग्रेसका नेताहरूको मातृकाप्रसादसँग यति धेरै मतभेद भयो कि उनीहरू मातृकाप्रसादको समर्थन छोडेर पदबाट राजीनामा दिन बाध्य भए।

 

 

 

 

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर