प्रजा परिषद्का सदस्यहरू हिरासतमा, गंगालाललाई पिटियो, र गणेशमानको बयान

प्रजा परिषद्का सदस्यहरू हिरासतमा:

एक् दिन, गंगालाल हतारिँदै गणेशमानकहाँ आइपुगे। उनले ओढेको खास्टोले प्रजापरिषद्को पर्चा तयार गर्ने टाइपराइटर छोपेको थियो। पुलिसले धर्मभक्तको घर खानतलासी गरे भन्ने खबर आएको थियो। गंगालालको घर पनि खानतलासी हुन सक्छ भनेर उनी टाइपराइटर लुकाउन गणेशमानकहाँ आइपुगेका थिए।

टाइपराइटर लुकाएपछि गणेशमान र गंगालाल धर्मभक्तको घर पुगे, जहाँ सबैतिरबाट घर पुलिसले घेरिराखेको थियो। पुलिसले कोठाहरू खानतलासी गरिरहेको टाढैबाट देखिन्थ्यो।

त्यहिँ थियो उनीहरूले स्वतन्त्र धर्मभक्तको अन्तिम झलक देखेको।

एकैछिन बसेपछि, दुबै गंगालालको घरतिर लागे, र त्यहाँ पनि नभन्दै पुलिसले धमाधम उनको घर खानतलासी गरिरहेको रहेछ।

“अब के गर्ने, घर जाऊँ कि नजाऊँ”, गंगालाले सोधे। गणेशमानले नभाग्न सल्लाह दिए। बिदा लिएर, गंगालाल आफ्नो घर लागे र गणेशमान आफ्नो।

गंगालाललाई पनि हिरासतमा लिइयो।

पुलिस त्यस दिन गणेशमान सिंहको घर भने आएन, र अर्को दिन खबर आयो कि लगभग सबै प्रजापरिषद्का सदस्यहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा टंकप्रसाद आचार्य, गोविन्दप्रसाद उपाध्याय, बलबहादुर पाँडे र पुष्करनाथ उप्रेती पनि थिए।

यो भएको तीन दिनपछि पुलिस गणेशमानको घर पनि आयो। बडाकाजीको घर भएकाले पुलिसले गणेशमानको कोठा मात्र खानतलासी गर्ने निर्णय लिएका थिए। ‘रसियन रिभोलुसन’ किताब र गंगालालका लघुकथाको पाण्डुलिपी उनकोमा भेटेपछि उनलाई पनि हिरासतमा लिइयो।

गंगालाललाई पिटियो:

प्रजापरिषद्का सबैलाई सिंहदरबारभित्र राखिएको थियो, जहाँ अहिले रेडियो नेपालको स्टेशन छ। गणेशमान सिंहलाई गिरफ्तार गरेको एक दिनपछि गंगालालको बयान लिइएको थियो। हरिकृष्ण, जसले त्यो दिनको पुरै घटना देखेका थिए, निकै डराएका थिए। उनले नै प्रजापरिषद्का अरू सदस्यलाई यो वृतान्त सुनाए।

सिपाहीहरूले एक पर्चा बोकेका थिए। पहिले उनीहरूले गंगालाललाई यो कस्को हो भनेर सोधे। गंगालालले केहि थाहा नभएको बताए। सिपाहीहरूले हरिकृष्णलाई त्यहि प्रश्न गरे। हरिकृष्णले गंगालालको हस्ताक्षर चिने, तर पर्चाबारे केहि थाहा नभएको बताए। पाँच पटकजतिसम्म प्रश्न गरेपछि, रिसाएका नरशम्सेरले गंगालालको मुखमै ताकेर एक मुक्का हाने।

“गंगालाल एकातिर उनको चश्मा अर्कोतिर पछारिन पुग्यो”, हरिकृष्णले सम्झिए।

नरशम्सेरले त्यसपछि गंगालाललाई पिट्ने आदेश दिए, र सिपाहीहरूले गंगालाललाई लछारपछार पार्दै निर्दयतापूर्वक पिटे।

गणेशमानले भोलिपल्ट गंगालाललाई भेटेको सम्झन्छन्। माथवर सिंहलाई बताउँदा उनले भन्छन्, “गंगालालको मुख फुलेर भिउँट जस्तो भएको थियो, शरीरभरि नीलडाम थियो, र लुगाभरि रगतका टाटाहरू थिए”।

गणेशमान उनीभएतिर बढ्दै गर्दा, गंगालालले सिपाही नजिकै छन् कि छैनन् भनेर सक्ने जति टाउको घुमाए र भने,

“गणेशमान दाइ, धर्म नछाड्नुस् है, मैले अहिलेसम्म केहि कुरा भनेको छैन। तपाईंले पनि धर्म छाड्नुभएन।“

गणेशमानको बयान:

पालैपालो गर्दै गणेशमानको बयान दिने पालो पनि आइपुग्यो। कोठामा देख्नेबित्तिकै नरशम्सेर सिंहमाथि झम्टिएर उन्लाई गुण्डा भन्न थाले।

बयानको क्रममा, गंगालालबाट केहि निकाल्न नसकेका नरशम्सेरले सिंहलाई भारी मुक्का हाने। सिंह तिल्मिलाए तर ढलेनन्। यसपछि नरशम्सेर झन् रिसाए। गणेशमानलाई पिट्ने आदेश दिएर उनी कोठाबाट निस्किए।

गणेशमानको सोधपुछ भोलिपल्ट फेरि भयो। यसबेला उनीहरूले नम्र भएर प्रयास गरे। धर्मभक्तले सबै कुरा भनिसकेका र सिंहले पनि दु:ख नपाउन सबै खुलस्त गर्दा उचित हुने भन्दै उनलाई सम्झाउन थाले।

गणेशमानले केहि पनि भनेनन्। यो उनको धर्म न थियो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर