सुवर्ण शमशेर र गणेशमान सिंहको सभापति पदको लागि उम्मेद्वारी
नेपाली काँग्रेसले प्रजातान्त्रिक समाजवादलाई महाधिवेशनबाट पारित गरेपछि नयाँ सभापतिको चयन गर्नुपर्ने भएको थियो। वी.पी. कोइरालासँग सल्लाह गरेर गणेशमानले सभापति पदका लागि आफ्नो उम्मेद्वारी दिए। तर कोइरालाले भने पछि सुवर्ण शमशेरलाई समर्थन गरे।
“मलाई सभापति हुने रहर थिएन”, सिंह बताउँछन्। “मेरो प्रयास, काँग्रेसको भनाई एउटा हुन्छ, गराई अर्को हुन्छ भन्ने नदेखियोस्, त्यो अपवादलाई रोक्न पनि प्रजातान्त्रिक समाजवाद घोषणा गर्ने पार्टीको सभापतिमा पूँजीवादी सुवर्णजीको चयन हुनुहुँदैन भनेर मैले विकल्प प्रस्तुत गरेको थिएँ।“
पछि वी.पी.ले सुवर्ण शमशेरको समर्थन किन गरेका भन्ने रहस्य खुलाए:
“हेर्नोस् गणेशमानजी! हामीले भारत र राजा दुवैसँग टक्राएर पार्टीको संगठन त मजवूत बनायौँ तर सत्ता गुमायौँ। सत्तामा नगएसम्म हाम्रा नीति र कार्यक्रम लागू गर्ने सवालै उठ्दैन। त्यसैले सत्ताको बाटो खोल्न तपाईँ र मेरोभन्दा सुवर्णजीको उपयोगिता बढी छ। तपाईँ अत्यन्त सरल, इमानदार तथा स्पष्टवादी हुनुहुन्छ। त्यही कारणले जनताले हामीलाईभन्दा तपाईँलाई विश्वास गर्छन्। तर तपाईँसँग खुलेर कुरा गर्न् नेता मात्र होइनन्, राजा पनि डराउँछन्। सुवर्णजीको दरबार र भारतसित आफ्नै प्रकारको सम्बन्ध छ र उहाँलाई अघि सारेर हामी तीसँग सम्बन्ध सुधार गर्न सक्छौँ।“
गणेशमानले सोधे – “चुनाव नभएसम्म कुनै हालतमा सरकारमा नजाने भन्ने हाम्रो अडान होइन र? अनि हामीले किन सरकारमा जाने बाटो सुधार गर्नुपऱ्यो र?”
“देख्नुभएन, चुनाव गराउने कुनै सुरसारै छैन। चुनावबिना हामीले सरकार गठन गर्न मिल्दैन। त्यसैले राजालाई दबाब दिनु हाम्रो मुख्य लक्ष्य हुन्छ”, वी.पी.ले जवाफ दिए।
सिंहको नेपाल भ्रमण
“चुनाव हुनुअघिको अवधिमा मैले नेपालको हिमाल, पहाड र तराई हेर्ने मौका पाएँ”, सिंह बताउँछन्। “मेचीदेखि महाकालीसम्मको पैदल यात्राका अवसरमा बाटोघाटो, खानेपानी, स्वास्थ्योपचारको अभावका बावजूद सरल तथा सोझा जनताका स्वावलम्बी जीवनशैलीलाई मैले प्रत्यक्ष देखेको र अनुभव गरेको थिएँ।“
“तिनताकाका पहाडी गाउँहरूमा गरीवी थियो तर पनि उज्यालो भएर प्रकट हुने गरेको थियो। एउटा डाँडामा उभिएर अर्को डाँडाको गाउँलाई हेर्दा हरियो क्यानभासमा विभिन्न रंग पोतेर बनाएको चित्रजस्तो देखिन्थ्यो। त्यस बेलासम्म सबै घरमा पराल, छवाली वा खरले छाना छाएको देखिन्थ्यो। मैले नेपाललाई प्रकृतिले प्रदान गरेको प्राकृतिक सम्पदाको प्रचुर सम्भावनाको दर्शन यही बेला गरेको हुँ।“
सिंहले केही महिना लगाएर नेपालका विभिन्न ठाउँ भ्रमण गरेपछि काठमाडौँ फर्किए।
दुई घटना
सिंह भ्रमण पूरा गरेर काठमाडौँ फर्किँदा सरकारका दुईवटा घटनाले राजधानीमा हल्लीखल्ली मच्चिरहेको थियो। पहिलो थियो, स्वतन्त्र न्यायलयको अधिकार कटौती गर्ने राजा त्रिभुवनको शाही घोषणा र दोश्रो थियो, नेपाली काँग्रेसलाई राजतन्त्र र भारतविरोधी भएको आरोप लगाउँदै आफूले त्यही कारण काँग्रेस त्यागेर अर्को पार्टी गठन गर्नुपरेको प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको स्पष्टीकरण।
सिंहका अनुसार मातृकाप्रसादको स्पष्टीकरण किन थियो भने उनी नेहरूको निम्तामा भारत भ्रमण गर्न जान लागेका थिए। उनलाई काँग्रेसले पार्टीबाट निकालेको हो कि आफैँले छाडेका भन्ने प्रश्न उठ्ने भएकाले उनले त्यसका लागि पृष्ठभूमि तयार पारेका थिए।
प्रधानमन्त्री मातृकाप्रसाद कोइरालाले भारत भ्रमणपछि स्वदेश फर्केपछि नेपाली काँग्रेसलगायत अन्य दललाई सरकारमा सामेल हुन आह्वान गरे। फलस्वरूप प्रजापरिषदबाट टंकप्रसाद आचार्य, राष्ट्रिय काँग्रेसका डिल्लीरमण रेग्मी र नेपाली जनकाँग्रेसका भद्रकाली मिश्रलाई सम्मिलित गरेर नयाँ सरकार गठन भयो।
नेपाली काँग्रेस भने मातृकाप्रसाद कोइरालाको आह्वान अस्वीकार गरेर चुनाव गराउने अडानमा दृढ बसिरह्यो।