गणेशमान वी.पी. कोइरालालाई भेट्न गोरखपुरबाट सरनाथ लाग्छन्

गोरखपुरको गर्मी

२०३३ साल असार महिना

२०३३ मा गणेशमान सिंह, वी.पी. कोइरालालगायत धेरै प्रजातन्त्रवादी नेताहरू भारत निर्वासनमा थिए। गणेशमान गोरखपुरको बजारबाट दुई-तीन किलोमिटर पर मोदीपुर भन्ने ठाउँमा बस्थे। उनी एक पन्जाबी जौहरीको घरको छिँडीमा बसेका थिए। “ती जौहरी नेपालको प्रजातन्त्रको सङ्घर्षप्रति सहानुभूति राख्थे”, गणेशमान बताउँछन्।

“घर र बाहिरको कम्पाउन्ड फराकिलो भएकाले हावा चल्थ्यो र मात्र गोरखपुरको गर्मी सहन सकिन्थ्यो”, गोरखपुरको असह्य गर्मीबारे सिंह बताउँछन्।

“तर बजारतिर त दिउँसो १२ देखि ४ बजेसम्म कोही पनि बाहिर निस्कने आँट गर्न सक्दैनथे। पसलहरू बन्द र सडक खालि हुन्थ्यो – र  बजार बेलुका मात्र खुल्थ्यो।

सिंहको दैलोमा सन्देश बोकेर दूत आइपुग्छन्

गोरखपुरमा त्यस दिन अत्याधिक गर्मी थियो। मध्यान्नतिर गणेशमानको दैलोमा एक दूत आइपुगे। उनी वी.पी. कोइराला बसिरहेका सरनाथको घरबाट आएका थिए। उनले गणेशमानलाई तुरुन्तै सरनाथ जाने अनुरोध गरे।

“मलाई दिन ठ्याक्कै याद भएन तर यति याद छ कि पसिना-पसिना हुने गर्मी थियो। यस्तो गर्मीको बेला बाहिर निस्कनै असम्भव थियो”, सिंह बताउँछन्।

“मलाई दुईवटा कुरा मनमा पऱ्यो – यस्तो गर्मी हुँदाहुँदै पनि ती दूत आउनुको अर्थ काम निकै जरूरी थियो। अर्को कुरा – मैले कोइरालाजीलाई दुईतीन हप्ताअघि मात्र भेटेको थिएँ। अचानक के भएछ?”

ती दूतलाई के भयो भनी सोध्न बेकार थियो किनकि नीतिअनुरूप पनि दूतहरूलाई आमन्त्रणको कारण बताइँदैनथ्यो।

सिंहले तुरुन्तै निस्किने निर्णय लिए।

त्यसबेला गणेशमानकहाँ पश्चिम नेपालबाट दुईजना पाहुना उनीसँगै बसिहेका थिए। खाना पाकिसकेको हुनाले चारैजना सँगै बसेर खाना खाएर सबैजना गोरखपुर रेलवे स्टेसनतिर लागे।

सिंह सरनाथ लाग्छन्

“गोरखपुर रेलवे स्टेसन त्यसबेलाका प्रमुख रेल स्टेसनहरूमा गनिन्थ्यो। स्टेसन विशाल थियो र भारतका हरेक मुख्य ठाउँतिर जाने यात्रुहरूका लागि महत्वपूर्ण ट्रान्सिट थियो। रेल नदेखेका नेपालीहरू प्ल्याटफर्ममा आउनेजाने रेल हेर्दै दङ्ग पर्थे”, सिंह बताउँछन्।

“त्यहाँ जहिले पनि भीड हुन्थ्यो। हरेक ठाउँबाट आएका मानिस आफ्नो गन्तव्यतिर हतारिइरहेका हुन्थे। यसकारण रेलको टिकट काट्न पनि मरिहत्ते गर्नुपर्थ्यो। भाग्यवस् गोरखपुर धेरै बसिसकेका साथीहरूलाई टिकट चाँडै काट्ने तरिका थाहा थियो। स्टेसन पुगेको आधा घण्टामा हामी सरनाथको रेल चढिसकेका थियौँ।

सरनाथ पुग्नेबित्तिकै सिंह कोइरालाका निवास पुग्छन्। सधैँझैँ कोइराला र गणेशमान एकअर्कालाई उही तरिकाले अभिवादन  गर्छन्।

२००७ सालको क्रान्तिभन्दा पहिले गणेशमान रक्सौल बस्दा कोइरालाले उनलाई पटना आउने अनुरोध गरेका थिए। त्यतिबेला गणेशमान जहाँ जाँदा पनि एउटा झोला र सकेसम्म थोरै सामान बोकेर जान्थे। एउटै झोला मात्र बोकेर आएको देखेर वी.पी. कोइरालाले सिंहलाई अरू झोला कहाँ छ भनी प्रश्न गर्दा सिंहले जिस्कँदै अर्को रिक्सामा आउँदैछ भनेका थिए।

यसरी कोइराला र सिंहबीचको अभिवादनको चलनको सुरूवात भयो। गणेशमान कोइरालाकहाँ आउँदा कोइरालाले सधैँ सिंहलाई अरू झोला खोइ भनी सोध्थे र सिंहले सधैँ अर्को रिक्सामा आउँदै छ भनी जवाफ दिन्थे।

सरनाथमा पनि उनीहरूबीच यो अभिवादन दोहोरियो। एउटै मात्र झोला बोकेर आएको देखेर कोइरालाले अरू झोला खोइ भनी प्रश्न गरे।

आफ्ना पुराना मित्रलाई उत्तर दिँदै गणेशमानले भने, “अर्को रिक्सामा आउँदैछ।”

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर