सिंह र कोइरालाबीचको कुराकानी
सिंह र कोइरालाबीच वर्षौँदेखि हुँदै आएको अभिवादनको चलन पुरा भएपछि, उनीहरू आँगनमा चिया पिउन बसे।
“धेरै हतारमा बोलाउनुभयो नि। कुरा अघि बढेको हो?” सिंहले कोइरालालाई सोधे। “दूतको अनुरोधअनुसार काम निकै जरूरी भएको महसुस गरेकाले म तुरुन्तै निस्किहालेँ”, सिंहले थपे।
“हो, गणेशमानजी। तपाईँसँग केही महत्त्वपूर्ण कुरा गर्नुपरेकाले तपाईँको उपस्थितिको अनुरोध गरेको हुँ”, कोइरालाले जवाफ दिए। “तर त्यो कुरा अहिले खाना खाँदा गरौँला। आज सँगै खाने तपाईँ र म मात्र हुन्छौँ।छतमै खाऔँ – कुरा पनि त्यहीँ गरौँला”, कोइरालाले थपे।
सिंहले स्विकारे। उनले कोइरालाको हाउभाउ वा बोलीमा तनाव छ कि भनेर बुझ्न खोजे तर केही त्यस्तो भेटाएनन्। तर एउटा कुरा भने उनलाई खट्किरहेको थियो:
“आजभन्दा पहिले, मैले कोइरालाजीको निवास कहिल्यै यति सुनसान देखेकै थिइनँ। उहाँको घरमा बजारमाजस्तै सधैँमानिसहरूको आवजजावत भइरहेको हुन्थ्यो। त्यसमाथि उहाँको आफ्नै परिवार पनि ठूलो थियो। तर आज भने घरमा खासै मान्छे किन थिएनन् भन्ने म सोचिरहेको थिएँ। मलाई सम्झना छ कि कोइरालाजीको परिवार सधैँ सँगै खाना खानुहुन्थ्यो। घरमा पाहुना आउँदा पनि परिवारसँगै बसेर खाना खाने चलन भएकाले कोइरालाजीको निवासमा नयाँ पाहुना आउँदा तिनमा पारिवारिक छाप पर्थ्यो। यो बेला भने केही फरक थियो।“
त्यहि पनि केही नभनी सिंह एकैछिन आराम गर्न कोठातिर लागे।
सिंह र कोइराला छतमा खाना खान्छन्
साँझ परेपछि सिंह र कोइराला छततिरउक्लिए। छतमा भएको एउटा मात्र कोठालाई कोइरालाको कार्यालय बनाइएको थियो र बाँकी छत खुला थियो। भारत निर्वासनको समयमा कोइराला, सिंह र अरू साथीहरूले धेरै साँझहरू यही छतमा गर्मी मौसमलाई बतासको बेगले भुलाउँदे बिताएका थिए।
दुवै एक कुनामा बसे, र भान्सेहरूले खाना पस्किन थाले। खाना खाँदाखाँदै बीचमा रोकिएर कोइरालाले सिंहलाई भने:
“गणेशमानजी, आजभोलि मेरो मनमा विभिन्न किसिमका विचार आउँछन्। यी विचारहरू मैले खुला रूपमा बताएँ भने सबले म तनाव र उमेरको कारण बहुलाएछु भन्छन्।“
सिंहका लागि त्यो अनौठो थिएन। कोइरालाको लवजसँग सिंह निकै वाकिफ थिए। कोइराला सधैँ कौतुहलता बढाउँदै आफ्नो विचारलाई तर्कपूर्णबनाउँदै जान्थे।
“तपाईँको मनको विचार मलाई भन्नुभए म त्यसमा आफ्नो विचार राख्न सक्थेँ”, सिंहले प्रतिक्रिया दिए।
कोइरालाले अझै कुरा घुमाइरहे। “थाहा छ गणेशमानजी, तपाईँ मेरो निकै विश्वसनीय मित्र हुनुहुन्छ र तपाईँलाई म हरेक योजनाहरू बताउँछु। आज पनि मलाई बुझ्नुहुन्छ त तपाईँले?” कोइरालाले थपे।
“ठ्याक्कै कुरा के हो बताउनुस् न कोइरालाजी। अनि पो बुझ्न सक्छु त।”
दुवैनिकै बेर मौन रहे। खानाका थाल पनि रित्तिए।
कोइरालाको नेपाल फर्कने इच्छा
“म बहुलाएछु भन्ठान्नुहोला। म निश्चित छु कि हाम्रा राजनीतिका साथीहरूले मलाई बहुला भन्नेछन्। मैले भनेँ नि, मेरा मनमा धेरै किसिमका विचार आइरहेका छन्। ती सबै विचारलाई समेट्न खोज्दैछु तर अझै सकिरहेको छैन। तपाईँले बुझ्नुहुन्छ-बुझ्नुहुन्न थाहा छैन। म निश्चित छु हाम्रा राजनीतिका साथीहरूले बुझ्दैनन्। ओहो! राजनीतिक क्रान्तिको तनावले यो मान्छे बहुलाएछ भन्नेछन्।“
यसबेलासम्म सिंहको धैर्यको सीमा नजिकिसकेको थियो। तर कोइरालाको हिच्किचाहट देखेर उनले बुझे कि कोइरालाको दोधार निकै गम्भीर छ।
“तपाईँको मनमा के चलिरहेको छ खुलेर बताउनुस् कोइरालाजी”, सिंहले भने।
“म भारत छोडेर नेपाल फर्कने विचार गर्दैछु”, आखिरमा कोइरालाले आफ्नो विचार खुलाए।
यसबेला उनले कुरा घुमाएनन्। उनको एक वाक्यपछि निकै बेर मौनता छायो।
मौनता तोड्दै सिंहले भने:
“कोइरालाजी, के मैले भर्खर तपाईँबाट सुनेको कुरा साँचो हो? तपाईँले नेपाल फर्किने विचार गरिरहनुभएको हो? आज खानाभन्दा अघि त मैले पिएको थिइनँ, त्यसैले म मातेको त छैन। तर तपाईँले नेपाल फर्किन मन छ भन्नुभएको जस्तो पो सुनेँ त! मेरो कान, मुटु र मस्तिष्कबीचको सम्पर्कमा समस्या पो आयो कि क्या हो?”
“होइन गणेशमानजी। तपाईँले जे सुन्नुभयो, ठिक सुन्नुभयो। म नेपाल फर्कन चाहन्छु”, वी.पी. ले जवाफ दिए।
फेरि मौनता छायो।