यात्रा अचानक मोडियो!
वी.पी. कोइरालाले नेपाल फर्कने इच्छा व्यक्त गरेपछि सिंह स्तब्ध भए। कोइरालाको निवासको छतमा धेरै समय मौनता छायो – दुवै सोचमा हराए। शीतल बतासको बेग चलिरह्यो। अन्तत: सिंहले मौनता चिर्दै भने:
“कोइरालाजी, तपाईँले शहरतिर नयाँ विचार भन्दै आफ्नो यो दृष्टिकोण अरूलाई बताउनुभयो भने मानिस अचम्मित मात्र हुने छैनन् – तपाईँको स्वास्थ्यको चिन्ता गर्न थाल्नेछन्। एक राजनेताले यसरी आफ्नो विचारमा मोडिनु नितान्त अकल्पनीय हुन्छ। मैले यस्तो अनुभवको सामना गर्नुपर्ला भनेर सोचेको पनि थिइनँ – त्यो माथि तपाईँबाट। तपाईँले आफ्नो विचार अरूलाई पनि बताउनुभयो भने तिनले तपाईँलाई मानसिक रोग लागेछ भन्नेछन्। भन्छन् नि स्वस्थ व्यक्तिको कल्पनाले उसलाई कवि बनाउँछ, अस्वस्थ व्यक्तिको कल्पनाले उसलाई पागल बनाउँछ।“
कोइरालाले नेपाल फर्कने इच्छा व्यक्त गर्लान् भन्ने सिंहले कल्पना नै गरेका थिएनन्। “हो, हाम्रो अवस्था अनुकुल थिएन – नेपालको सार्वभौम भूमिको ४० किलोमिटर वरिपरि आन्दोलन गर्न नमिल्ने प्रतिबन्धका कारण हाम्रो क्रान्ति फितलो हुँदै गइरहेको थियो। त्यसमाथि भारतले हामीलाई दक्षिण भारतको बेङ्गलोर जान दबाब दिइरहेको थियो जुन स्वीकार गरे हाम्रो क्रान्ति नै पूर्णरूपमा मर्न सक्थ्यो। क्रान्तिको योजनाको तयारीका लागि हामीलाई शरण दिने नेपाल नजिकको राष्ट्रको खाँचो थियो। चीनको राजनीतिक झुकाव प्रजातन्त्रभन्दा बेग्लै भएकाले उनीहरूले हामीलाई शरण दिँदैनथे। त्यसका साथै त्रिभुवनको पालामा नेपाल र चीनबीच राम्रो सम्बन्ध कायम भएकाले राजनीतिक दबाब दिन भारत पनि आतुर थियो। सायद उनीहरूले ठाने कि नेपालका निर्वासित नेताहरूलाई दक्षिण सार्दा राजालाई दबाब पर्न जान्छ”, गणेशमान माथवर सिंहलाई बताउँछन्।
“दबाबले कोइरालाजीलाई यति चाँडै प्रभाव परेको देख्दा म चकित भएँ”, उनी थप्छन्।
तत्काल मृत्यु वा मन्दविष?
सिंहले आफ्नो विचार राखुन्जेल कोइरालाले प्रतिक्षा गरे। लामो बेरको मौनतापछि सिंहले भने,”यस्ता निर्णय हतारमा लिनुहुँदैन कोइरालाजी। यो कदम नेपालको प्रजातन्त्रको लक्ष्यका लागि आत्मघाती हुन सक्छ।“
“तर हामी दक्षिणतिर सऱ्यौँ भने त्यो कदम मन्दविष हुन्छ, होइन र?” कोइरालाले तुरुन्तै जवाफ दिए। “हो कि होइन? विचार गरेर जवाफ दिनुहोला।“
कोइरलाको तर्कसँग सहमत हुनुबाहेक सिंहसँग कुनै विकल्प थिएन। वास्तवमै काँग्रेसका नेताहरू दक्षिणतिर सरे भने क्रान्तिको अभियान मर्नेथ्यो।
“हेर्नुहोस्, यदि मर्नै छ भने, मन्दविष भन्दा तत्काल मृत्यु बेस होइन र?” कोइरालाले प्रश्न गरे।
सिंहसँग उत्तर थिएन त्यसैले मौन बसे। तर उनको मनामा हरेक सम्भावनाका दृश्यहरू दौडिरहेका थिए।
“गणेशमानजी, म यो विचारमा निश्चित भइसकेको छैन भनेर मैले तपाईँलाई सुरूमै भनेको होइन? म अझै पनि यसमा धेरै विचार गरिरहेको छु”, कोइरालाले सिंहलाई विश्वास दिलाउन प्रयास गरे।
सिंहको अन्तिम प्रश्न
सिंहको अन्तिम प्रश्न यसप्रकार थियो:
“क्रान्तिप्रति हाम्रो प्रतिबद्धता र नेपालमा प्रजातन्त्र पुन:स्थापना गर्ने हाम्रो सपनाको के त? मन्दविष वा तत्काल मृत्युले हामीलाई त राहत होला तर नेपाललाई आराम हुनेछ र? हाम्रो देशको समस्या जस्ताको तस्तै हुनेछ। जनताले हामीलाई कसरी सम्झनेछन्? इतिहासले हामीलाई कसरी सम्झनेछ?”
सिंहको प्रश्नले कोइराला पनि जोशिए। “हो, तपाईँले सही प्रश्न गरिरहनुभएको छ। हामीले यही प्रश्नहरूका सन्तोषजनक उत्तरहरू पहिल्याउनुछ। त्यसैले मैले यो निर्णय सार्वजनिक गर्नुअघि तपाईँसँग सल्लाह गर्न चाहेको हुँ। हामी नेपालका जनता र नेपाली इतिहासप्रति उत्तरदायी हुनुपर्छ। तर त्योभन्दा पहिले हामीले आफैलाई पनि जवाफ दिन सक्नुपर्छ। हामी आफै निर्णयमा निश्चित भइसकेपछि त बल्ल पार्टीका सदस्यहरूलाई बुझाउन सक्छौँ।“
“म फेरि दोहोऱ्याउँछु गणेशमानजी – नेपाल फर्कने मेरो निर्णय अझै पनि शिशुअवस्थामा छ। म आफै पनि मनन गरिरहेको छु र मलाई तपाईँको तर्कशील सुझावको पनि खाँचो छ। तपाईँ यसबारे विचार गर्नुहोस् अनि मलाई अच्छा सल्लाह दिनुहोस्।“
“कोइरालाजी, तपाईँकै दिशा वा दृष्टिकोण निश्चित नभई मैले कसरी तपाईँलाई सुझाव दिऊँ? म तपाईँको लक्ष्य स्पष्ट देख्न सकिरहेको छैन। तर साँच्चै भन्नुपर्दा मलाई लाग्छ कि जनताले हामीले आत्मसमर्पण गरेको ठान्नेछन्। हामी दुवै यसबारे अझै विचार गरौँ अनि अर्को बैठकमा छलफल गरौँला”, सिंहले भने।
दुवैले स्विकारे। खाना सकिएको धेरै बेर भइसकेको थियो। उनीहरू दुवै हात चुठ्न उठे।
छतबाट तल कोठातिर झर्दा कोइरालाले फेरि सिंहलाई सम्झाए कि उनको नेपाल जाने विचार अझै पनि विकासमै छ। उनले सिंहलाई बताए कि यसबारे सोच्न अझै समय चाहिन्छ र साथै फेरि सिंहलाई सुझाव दिन अनुरोध पनि गरे।
“हुन्छ कोइरालाजी। हामी दुवै यसबारे विचार गरौँ – किनकि यस निर्णयले हामीलाई मात्र होइन, सम्पूर्ण पार्टी र प्रजातान्त्रिक नेपाल हेर्ने हाम्रो सपनालाई असर गर्छ”, भऱ्याङबाट झर्दै गर्दा सिंहले कोइरालालाई भने।