सिंहले कोइरालाको निवासमा अनिदो रात बिताउँछन्
खानापछि, सिंह र कोइराला आ-आफ्नो कोठातिर लागे – तर सिंह निदाउन सकेनन्। खाना खाँदा कोइरालासँग भएको कुराकानी उनको मनमा दोहोरिरह्यो। र कोइरालाको प्रस्ताव जति नै तर्कसंगत भएपनि सिंहलाई नेपाल फर्कनुको परिणाम सोचेर चिन्ता लागिरहेको थियो।
“हाम्रो कथा “सिंह र खरायो” को जस्तै थियो। भोलिपल्ट सिंहको ओडारमा जानुपर्ने छ, र उचित रणनीति नभए हार हुने निश्चितछ। हाम्रा विरुद्धमा नेपालका विभिन्न अदालतमा कम्तीमा एक दर्जन मुद्दाहरू थिए – जसमध्ये कतिको सजाय फासी हुने थियो”, गणेशमान माथवर सिंहलाई बताउँछ्न्।
“त्योभन्दा अझ महत्त्वपूर्ण कुरा प्रजातन्त्रको क्रान्तिले कुन दिशा लिनेछ भन्ने थियो। किनकी त्यसबेला नेपालबाट राजाविरुद्ध क्रान्ति गर्नु असम्भव थियो”, सिंह थप्छन्।
रातभर, सिंहले कोल्टे फेरे तर एकछिन पनि निदाउन सकेनन्।
कोइरालाको नेपाल फर्कने प्रस्ताव डडेलोसरि फैलियो
भोलिपल्ट बिहानसम्म, कोइरालाको नेपाल फर्केने प्रस्ताव चारैतिर डडेलोसरि फैलिसकेको थियो। भारतका विभिन्न ठाउँमा शरण लिएर बसेका उनका राजनीतिका साथीहरू हतारिँदै सरनाथ आइपुगे। सिंहले भनेजस्तै धेरै सहमत थिए कि नेपाल फर्कनु भनेको आत्महत्या सरह हो। तर भारत सरकारले नेपाली नेताहरूलाई बेंगलोर सर्न दिइरहेको दबाबलाई कसरी चुनौती दिन सकिन्छ भन्दा कोहीसँग उत्तर थिएन।
सबैमा अनिश्चितता छायो। “प्राय नेताहरूविरुद्ध नेपालमा मुद्दा चलिरहेको थियो – र नेपाल फर्कनेबित्तिकै उनीहरू पक्राउ पर्न सक्थे। यसरी भूमिगत क्रान्ति कसरी संचालन गर्न सकिन्छ? त्यस्तो क्रान्तिले परिवर्तन ल्याउन चाहिने वातावरण कसरी हासिल गर्न सक्छ र?”, सिंहलगायत सबैले यही प्रश्नहरू गरिरहेका थिए।
पार्टीका सदस्यहरूले यी महत्त्वपूर्ण प्रश्नहरू उठाउँदाकसैले अनुशासन तोडेनन्। सबैले आफ्ना प्रश्न भलाद्मी तरिकाले प्रस्तुत गरे। “त्यो वी.पी. कोइरालाप्रतिको सम्मानका कारण थियो”, सिंह बताउँछन्
नेपाल फर्कने पक्ष र विपक्षमा छलफल
छलफल निकै दिनसम्म चल्यो र यही छलफल गर्न पार्टीले गोरखपुरमा पनि बैठक आयोजना गऱ्यो। भारतमा शरण लिएर बसेका र नेपालमै भएका धेरै साथीहरू गोरखपुरको बैठकमा उपस्थित थिए। अधिकांश सदस्य, र विशेषगरि नेपालमा बसिरहेका साथीहरूको सन्देश थियो –“नेताहरू नेपाल फर्कनु हुँदैन”।
“नेपालको राजनीतिक अवस्था क्रान्तिका लागि उपयुक्त छैन। उहाँहरूले भारतबाट नै दबाब दिँदा उचित हुन्छ”, उनीहरूले भने। “राजाको नजर हरेक शहर र गाउँमा छ”, उनीहरूले थपे।
भारतमा निर्वासनमा बसिरहेका नेताहरू दोधारमा परे। एकतिर, कोइरालाले नेपाल फर्कने गरेको प्रस्ताव तर्कसंगत थियो किनकी भारतले नेपाली नेताहरूलाई जसरी पनि बेंगलोर पठाउने योजना गरिरहेको थियो। दक्षिण भारतबाट क्रान्ति गर्नु अर्थहीन हुन्थ्यो जसले गर्दा क्रान्ति सुस्ताउँदै गएर मर्न सक्थ्यो। अर्कोतिर, नेपाल फर्कनु राजनीतिक आत्महत्या हुन्थ्यो।
“उनीहरूका चिन्ताहरू जायज भएकाले उनीहरूकोविचार नकार्न सकिन्न्थ्यो। नेपालमा प्रजातन्त्र पुन:स्थापना गर्ने यात्रालाई फाइदा हुने निर्णय लिनैपर्ने भएको थियो”, सिंह बताउँछन्