अरू नेताहरूसँग सुझाव, राजदरबारसँग सम्पर्क गर्ने प्रयास

अरू नेताहरूसँग सुझावको अनुरोध, राजदरबारसँग सम्पर्क गर्ने प्रयास

भारतमा गणेशमान सिंह, वी.पी. कोइराला लगायत अरू नेताहरूले निर्वासनमा जीवन बिताइरहँदा नेपाल फर्कने निर्णयको पक्ष र विपक्षमा बहस चलिरह्यो। अनौपचारिक रूपमा नेपाल फर्कने निर्णय लिसकेपछि निर्वासनमा बसिरहेका नेताहरूले नेपालभित्रै बसिरहेका अरू नेताहरूसँग सम्पर्क गर्ने प्रयास गर्न थाले।

कोइरालाले व्यक्तिगत रूपमा टंकप्रसाद आचार्य, डा. डिल्लीरमण रेग्मी, सूर्यप्रसाद उपाध्याय, डा. केशर जङ्ग रायमाझी र मनमोहन अधिकारीलाई चिठ्ठी लेखे। चिठ्ठीमा नेपाल फर्कने आफ्नो निर्णयबारे बताउँदै सुझावको अनुरोध पनि गरिएको थियो। विभिन्न तहका प्राध्यापक, अधिवक्ता र राजनीतिविज्ञहरूलाई पनि चिठ्ठी पठाइयो।

त्यसैगरि, नेताहरूले नेपाल फर्कने आफ्नो निर्णयलाई राजदरबारले कसरी हेर्ने हो भन्ने बुझ्न खोजिरहेका थिए। सर्वप्रथम उनीहरूले भारतमा भएका नेपाली राजदूत बेदानन्द झामार्फत सन्देश पठाउने विचार गरे। बेदानन्द झा नेपाल तराई काँग्रेसका संस्थापक थिए तर पछि उनले राजापक्षी भएर पञ्चायतकालमा मन्त्री तथा भारतमा नेपाली राजदूत भएर कार्यकाल निभाएका थिए। उनले सन्देश नै नपुऱ्याउलान् वा नभएका कुरा गर्देलान् भन्ने डरले नेताहरू उनीमार्फत सन्देश नपठाउने निचोडमा पुगे।

अन्तत: सिंहले पार्टीको प्रतिनिधित्व गर्दै भारतको नेपाली राजदूतावासका त्यसबेलाका सांस्कृतिक सहचारी मणिकलाल वज्रचार्यलाई सम्पर्क गरे। गणेशमानको सन्देश पाउनेबित्तिकै मणिकलाल बनारस आइहाले।

त्यहीँ सिंहले मणिकलाललाई काँग्रेसका नेताहरूको नेपाल फर्कने निर्णयका कारण बताए – र उनीसँग राजाको लागि क्यासेटमा रेकर्ड गरिएकोसन्देश सुम्पिए।

“हामी राजालाई हाम्रो निर्णयबारे अवगत गराउन चाहन्थ्यौँ। त्यसैले हामीले धेरैवटा क्यासेटहरू बनाएर विभिन्न व्यक्तिलाई उनीसम्म सन्देश पुऱ्याउन अनुरोध गरेका थियौँ”, गणेशमान बताउँछन्।

सिंहले पछि थाहा पाए कि मणिकलालले राजा वीरेन्द्रसम्म सुरक्षित रूपमा सन्देश पुऱ्याइदिएका रहेछन्।

राजा वीरेन्द्र र नेपाली काँग्रेसबीच अविश्वास

“राजा वीरेन्द्रलाई त्यो क्यासेटमा सन्देश पठाउनुको पछाडि हाम्रो कुनै एजेन्डा थिएन। हामी केवल नेपालको राजनीतिक परिवेशबारे पार्टीको दृष्टिकोण, र त्यसलाई परिवर्तन गर्ने हाम्रो मनसाय प्रष्टाउन चाहन्थ्यौँ। त्यो सन्देश पठाउनु निकै जरुरी थियो किनकि त्यसबेला दरबार र काँग्रेसबीच कुनै किसिमको राजनीतिक वार्ता हुनु असम्भव थियो।छलफलतिर जाने सबै पुलहरू भत्किसकेका थिए- पञ्चायतीहरूले यो निश्चित गरेका थिए”, गणेशमान माथवर सिंहलाई बताउँछन्।

“हामीले ती भत्केका पुल बनाउन सकेनौँ र राजा र हामीबीचको अविश्वास झन् बढ्दै गयो”, सिंह बताउँछन्।

सिंहलगायत अरू सबै नेताहरूका लागि राजाले उनीहरूको प्रत्यक्ष सन्देश पाउनु निकै महत्त्वपूर्ण थियो। त्यसैले उनीहरूले ती क्यासेटहरू पठाएका थिए। “यदि त्यो सन्देश राजाको कुनै सन्देशदूत मार्फत पठाएइको भए, अनजानमै वा जानीजानी हामीले भन्न खोजेका धेरै कुरा हराउन सक्थ्यो”, सिंह बताउँछन्।

“र अन्त्यमा, हामीले विगतमा पनि आफ्नो दृष्टिकोण, निर्णय र सन्देहहरू राजालाई स्पष्टै बताउने गरेका थियौँ। अहिले चाहिँ लुकेर नेपाल प्रवेश गर्नु किन पर्थ्यो र?” उनी भन्छन्।

“राजनीतिक कारनामाको यात्रामा ननिस्किनुहोस्”: टंकप्रसाद आचार्य

यता, कोइरालाका चिठ्ठी बोकेर दूतहरू काठमाडौँ पुगिसकेका थिए। टंकप्रसाद आचार्य उनीहरूका समकालीन नेताहरूमध्ये सबैभन्दा सम्मानित नेताहरूमध्ये एक भएकाले सिंहले उनीसम्म चिठ्ठी पुऱ्याउन विशेष दूतलाई जिम्मा दिएका थिए।

चिठ्ठी पढेपछि आचार्यले नेताहरूलाई नेपाल फर्कनबाट निरुत्साहित गर्दै चेतावनीपूर्ण सन्देश पठाए।

“नेपाल फर्कने तपाईँहरूको यो निर्णय ठूलो गल्ती हुनेछ। राजनीतिक परिवर्तनको खोजीमा राजनीतिक साहस जरूरी हुन्छ तर त्यसो भन्दैमा मूर्खतापूर्ण जोखिम लिनुहुँदैन। निर्णय लिँदा सोचविचार पुऱ्याउनुपर्छ। निर्वासित नेताहरू नेपाल फर्किनु साहसी काम हुनेछ र साथसाथै ठूलो गल्ती पनि”, आचार्यले सन्देशदूतलाई बताए, जुन खबर तुरुन्तै नेताहरूसम्म पुऱ्याइयो।

अरू नेताहरूको विचार पनि उही थियो। राज्यले हामीमाथि कडाभन्दा कडा सजाय गर्न सक्थ्यो जसकारण हाम्रो ज्यान जाने पनि सम्भावना थियो। नेपाल फर्कनु पक्कै पनि उचित थिएन।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर