काठमाडौँ फर्कने तयारी
“प्रजातान्त्रिक व्यवस्थाको अपरिहार्य विशेषता भनेको पार्टीका नेताहरूको मात्र नभई कार्यकर्ताको आवाजलाई पनि आत्मसाथ गरेर निर्णयहरू लिनु हो”, काठमाडौँ फर्कने छलफलबारे सिंह बताउँछन्। “यही कारणले गर्दा पनि मैले काठमाडौँ फर्कनुअघि सबैसँग बैठक र छलफललाई जोड दिएको थिएँ”, सिंह थप्छन्।
पार्टी बैठकमा विभिन्न छलफल भयो। प्राय: सबैका अनुसार नेपाल फर्कदा खतरा हुने भएपनि कोइरालाले भनेझैँ अरू कुनै विकल्प बाँकी नभएको कुरामा सबै सहमत थिए।
यसरी तय भयो कि नेता र कार्यकर्ताहरू क्रान्तिलाई निरन्तरता दिन नेपाल फर्कने भए।
सिंह र कोइरालाको नेपाल फर्कने मिति दुईपटक सार्नैपर्ने भएर सऱ्यो। उनीहरू फर्कने तयारी गरिरहँदा मणिकलाल वज्रचार्य एक सन्देश लिएर नेपालबाट आइपुगे। राजा वीरेन्द्रले उनीहरूले पठाएको क्यासेट सुने तर केही प्रतिक्रिया नदिएका रहेछन्।
“हामी चाहन्थ्यौँ कि राजा वीरेन्द्रले सन्देश पाउन् र उनको प्रतिक्रिया अचानक थाहा पाएर चकित हुन वा प्रतिक्रियाबारे चिन्ता गर्न नपरोस्”, सिंह बताउँछन्।
“हामीले सोच्यौँ – राजा वीरेन्द्रले हामीलाई कुनै प्रतिक्रिया नदिनु पनि एक किसिमको प्रतिक्रिया नै थियो”, सिंह थप्छन्।
२०३३ साल पुष २ गते: फर्कने मिति तय भयो
“आखिरमा हामी काठमाडौँ फर्कने मिति तय भयो। हाम्रो जहाज २०३३ साल पुष २ गते पटनाबाट काठमाडौँ उड्ने भयो। को नेपाल फर्कने र को भारतमै बस्ने पनि लगभग तय भइसकेको थियो। भारतको टिमको अगुवाइ गिरिजाप्रसाद कोइरालाले गर्ने भए। पार्टीका कतिपय सदस्य आफ्नै जिल्ला फर्कने र कोइरालाजी र म काठमाडौँ फर्कने भयौँ”, सिंह बताउँछन्।
“पार्टीका साथीहरू पालैपालो गर्दै आफ्ना जिल्ला फर्कन थाले। बिदाइका क्षणहरू सधैँ भावुक हुन्थे। प्राय: सबैका विरुद्ध तिनका जिल्लामा पक्राउ आदेश थियो। उनीहरू फर्कनेबित्तिकै पक्राउ परेर कैद हुन्थे”, गणेशमान आफ्ना दोधारका भावनालाई सम्झन्छन्।
बनारसको ट्रान्जिट
“त्यतिबेला म गोरखपुरबाट बनारस सरेको थिएँ। बनारस मेरा लागि ट्रान्जिटजस्तै थियो”, सिंह बताउँछन्।
“त्यहाँ एउटा कोठा भाडामा लिएको थिएँ र नियमितरूपमा कोइरालाजीसँग भेटिरहन्थेँ। त्यसैगरि, पार्टीका साथीहरू पनि अरू शहर जाने बाटो पारेर बनारस आइपुग्थे। म एक्लै बस्ने भएकाले उनीहरू आफ्नो गन्तव्यतिर लाग्नुअघि मेरोमा बास बिताउन सहज मान्थे”, सिंह थप्छन्।
“ती साथीहरूसँग विभिन्न मुद्दाहरूमा छलफल गर्ने ती दिनहरू निकै यादगार छन्। परिवारबाट लामो समयदेखि टाढिएर बसेकाले तिनै साथीहरूको साथमा राहत पाउँथे। उनीहरू मेरोमा आउँदा अरू दिनहरू जति एक्लो महसुस गर्दिनथेँ”, उनी थप्छन्।