सिंह, उनको परिवार र तिनको बलिदान

सिंह, उनको परिवार र तिनको बलिदान

गणेशमान सिंहका शब्दमा:

निर्वासनको बेला म एक्लै बस्थेँ – घरबाट, परिवारबाट टाढा। मेरो राजनीतिक लक्ष्यका कारण मेरो परिवारले दु:ख झेल्न नपरोस् भन्ने चाहन्थेँ तर बारम्बार तिनको बलिदान अपरिहार्य हुन्थ्यो।

मेरा बालबच्चा आफ्ना आमाबुवासँग हुर्कनपर्ने बेला म अन्तै हुन्थेँ – कहिले जेलमा त कहिले निर्वासनमा। मंगलादेवीले हाम्रा बच्चाका लागि दुवै आमा र बुवाको भूमिका निभाइन्। तर न उनले न बालबच्चाले कहिल्यै गुनासो गरे।

कुनै-कुनै बेला बिदा हुँदा मंगलादेवी र बच्चाहरू मलाई भेट्न आउँथे। वरपर घुमघाम गरेर उनीहरू घर फर्कन्थे। म तिनीहरूसँगको भेटको निकै प्रतिक्षा गर्थेँ। त्यसैगरि, कान्ता र मिता राजस्थानमा अध्ययन गरिरहँदा गोरखपुर आएर मसँग केही दिन बिताएर मात्र काठमाडौँ फर्कन्थे। तिनलाई स्टेसनबाट लिएर आउँदा र स्टेसन छोड्न जाँदाबीचका दिनहरू गएको पत्तै हुँदैनथ्यो।

प्रदीप र प्रकाशको छात्रवृत्ति खारेज भयो

त्यसबेला हाम्रा सबै बच्चाहरू अध्ययनरत थिए। जेठी रीता त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा एम.ए गर्दै थिई, कान्ता र मीता राजस्थानमा पढ्दै थिए, प्रदीप स्नातकको तयारी गरिरहेको थियो र प्रकाशले भर्खरै आइ.एससी उत्तीर्ण गरेको थियो।

मलाई याद छ प्रदीपले मन दुखाएको थियो। प्रदीप र प्रकाश दुवै पाइलट हुन चाहन्थे र उडान अध्ययन गर्न क्यानडा सरकारको छात्रवृत्तिका लागि छनौट पनि भएका थिए। खुला प्रतिस्पर्धाबाट आफ्नै क्षमताका आधारमा छात्रवृत्ति जितेपछि अरू सबै प्रक्रिया पूरा भइसकेको थियो र उड्न मात्र बाँकी थियो। यतिसम्म कि तिनले साथीभाइ र परिवारसँग बिदाइको भोज पनि गरिसकेका थिए।

तर जानुभन्दा एकदिन अगाडि, नेपाल सरकारले तिनलाई नेपालबाट बाहिर जान प्रतिबन्ध लगाइदियो। कुनै कारण दिइएन – यो बुझ्न सकिन्थ्यो कि तिनले गणेशमान सिंहका छोराहरू हुनुको मोल चुकाइरहेका थिए।

मेरा दुई छोराहरूले आफ्नो बलबुताले छात्रवृत्ति जितेर आफ्नो भविष्य बनाउन हिँड्न लागेका थिए तर तिनको बाउको नामका कारण तिनले त्यो त्याग्नु पऱ्यो। तिनलाई अन्याय भएको थियो।

प्रदीपलाई यो घटना मनमै पऱ्यो र उसले त्यसपछि विज्ञानको अध्ययन त्याग्यो र बी.ए गर्न थाल्यो। प्रकाश त्रिचन्द्र कलेजमा बी. एससी अध्ययन गर्न थाल्यो।

मंगलादेवीका संघर्ष

यता कान्ता र मीता राजस्थानको सोफिया कलेजमा अध्ययनरत थिए। कान्ताले टेक्स्टाइल डिजाइनिङको कोर्स गरिरहेकी थिई। मीता आइ.एससी गर्दै थिई र डाक्टर बन्न चाहन्थी। परिवारको सम्पूर्ण आर्थिक भार र बच्चाहरूको अध्ययनको खर्च मंगलादेवीको काँधमा थियो।

आर्थिक अभावका कारण मंगलादेवीले आफूले विवाहमा पाएका गरगहनासबै बेच्न पऱ्यो।

यसैगरि, हाम्रो परिवारका कष्टकर दिनहरूमा साथ दिने पी.एल. सिंहले पनि मंगलालाई, मलाई र बच्चाहरूलाई धेरै सहयोग गरेका छन्। उनको सहयोग म कहिल्यै बिर्सन सक्दिन र सधैँ उनीप्रति आभारी हुन्छु।

म काठमाडौँ फर्कने निर्णय गरिसकेपछि पनि एकचोटि परिवारलाई भारत नै बोलाऊँ कि भन्ने लागेको थियो। काठमाडौँ पुगेपछि जे पनि हुन सक्ने भएकाले एकपटक तिनलाई आरामले भेट्ने इच्छा थियो। तर सबै बच्चाहरू आ-आफ्नो जाँच र तयारीमा व्यस्त भएकाले तिनलाई नबोलाउने निचोडमा पुगेँ।

यो कुरा मंगलादेवीसँग पनि छलफल गर्दा उनी पनि सहमत थिइन् कि बच्चाहरूलाई भारत बोलाउनु उचित समय थिएन। मंगलामा निकै सामर्थ्य थियो – उनले हामी नेपाल फर्कने निर्णयलाई पनि पूर्णरूपमा आत्मसाथ गरिन्।

मंगला सधैँ ऊर्जाको श्रोत थिइन् – म सुन्दरीजलको जेलमा हुँदा पनि उनी आफ्नो कर्तव्यमा कहिल्यै चुकिनन्। उनले आफ्नो राजनीतिक अभिलाषालाईपनिसँगसँगै पछ्याइरहिन्।

मेरी आमाको देहान्त हुँदा म बाहिर थिएँ र उनको अन्तिम संस्कारका लागि घर आउन सकिनँ। भाइ देवशंकरकोसहयोगमा उनले नै त्यसको पनि सबै प्रबन्ध गरेकी थिइन्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर