२०४६ सालको जनआन्दोलन: प्रजातन्त्रको निम्ति संघर्ष
लौहपुरुष: विश्लेषणात्मक जीवनगाथा नामक पुस्तकबाट एक अंश यस यस प्रजातन्त्र शृङ्खलामा प्रयोग गर्ने अनुमति दिनुभएको लेखक घनेन्द्रपुरुष ढकालप्रति गणेशमान सिंह फाउन्डेसन आभार व्यक्त गर्दछ। घनेन्द्रपुरुष ढकालद्वारा लिखित यस हप्ताको लेख ‘२०४६ सालको जनआन्दोलन: प्रजातन्त्रको निम्ति संघर्षले गणेशमान सिंह र नेपालको २०४६ सालको जनाअन्दोलनको संघर्षको बयान गर्दछ।
परिचय: लेखकको मन्तव्य
प्रजातन्त्र स्थापनार्थ नेपालकै माटोमा पहिलोपटक भएका आन्दोलनमध्ये २०४६ सालको जनआन्दोलन पनि एक हो। यस जनआन्दोलनको परिकल्पना, रचना र नेतृत्व गणेशमान सिंहले केही साथीहरूसँग मिलेर गरेका थिए। नेपालको राजनीतिक इतिहासमा यस क्रान्तिको विशेष स्थान छ।
राजा महेन्द्रले २०१७ सालमा निर्दलीय पञ्चायत व्यवस्था भित्राएपछि गणेशमान सिंहको दोश्रो प्रजातन्त्रको संघर्षको सुरूवात भयो। सिंह, वी.पी. कोइरालालगायत अरू नेताहरू सुन्दरीजलको जेलमा केही वर्ष विना कुनै कानुनी प्रक्रिया कैद भए, केही वर्ष तिनले निर्वासनमा समय बिताए र केही वर्ष भूमिगत भएर सङ्घर्षरत रहे। वी.पी. कोइराला दुर्भाग्यबस् संघर्षको अन्त्य हुनुअघि नै दिवङ्गत भए तर सिंहले सङ्घर्षको मशाल निभ्न दिएनन्।
नेपालमा प्रजातन्त्र उदाएको दिन, सिंहले भनेका थिए, “देशलाइ यस अवस्थासम्म ल्याउन मलाई ३९ वर्ष लागेछ। यस क्रममा मैले कैयौँ अग्निपरीक्षाबाट गुज्रन पऱ्यो तर आज म शहिद गंगालाल र नेपाली जनताको ऋणबाट उऋण भएको छु।“
२०४६ सालको जनआन्दोलन राजनीतिक दृष्टिकोणले पनि मौलिक थियो किनकि यसबेला जनताले को काँग्रेस को कम्युनिष्ट बिर्सिएका थिए – सबै प्रजातन्त्र र मानवअधिकार सुनिश्चित गर्ने एउटै लक्ष्यका लागि एकजुट भएका थिए ।
पृष्ठभूमि
२०१७ साल पुष १ गते राजा महेन्द्रले निर्दलीय पञ्चायत व्यवस्थाको थालनी गरे। त्यसबेलाको सरकारमा रहेको पार्टी नेपाली काँग्रेसलाई अवैधानिक भनी वी.पी. कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायत अरू नेताहरूलाई कठोर कारावासमा ठोस्यो। उनीहरूले सुन्दरीजल जेलमा सुनुवाइ कुरेर आठ वर्ष बिताए। धेरै ठाउँबाट राजनीतिक दबाब आएपछि उनीहरूलाई २०२५मा जेलबाट रिहा गरियो। तर जेलमुक्त भएपनि उनीहरूलाई देशनिकाला गरियो र अर्को आठ वर्ष उनीहरूले भारतको निर्वासनमा काटे। त्यहाँबाट उनीहरूले क्रान्तिलाई निरन्तरता त दिने प्रयास गरे तर सो प्रयासको कुनै प्रतिफल आएन।
यस समयसम्म नेपाली काँग्रेसका प्रमुख नेताहरूमा वी.पी. कोइराला, गणेशमान सिंह र सुवर्ण शमशेर पर्थे। तर पार्टीको धेरैजसो रणनीतिहरू वी.पी. कोइरालाले प्रस्ताव गर्थे।
सिंह भन्थे कि जे गर्ने हो ठूलै गर्नुपर्छ। उनी आफ्नो यो विचार निरन्तर कोइराला लगायत अरू पार्टीका सदस्यहरूसँग राखिरहन्थे। सीमापारिबाट आयोजना गरिएका ती सानातिना अभियानभन्दा पनि श्रोतसाधन संकलन गरेर नेपालकै भूमिबाट राष्ट्रिय स्तरमा क्रान्ति गर्नलाई पार्टीले ध्यान दिनुपर्ने पनि उनको मान्यता थियो।
काँधमा पार्टीको जिम्मेवारी
कमजोर हुँदै गएको स्वास्थ्य, निर्वासनको बसाइ र अरू संघर्षहरूको असरले २०३९ सालमा वी.पी. कोइरालाको देहावसान भयो। उनले नेपालमा प्रजातन्त्र फेरि उदाएको हेर्न पाएनन्। कोइरालापछि पार्टीका धेरै जिम्मेवारी गणेशमान सिंहको काँधमा आइपऱ्यो।
राष्ट्रिय स्तरको अभियान चाहिने विचारमा अझै अडिग सिंहले २०४२ सालमा राष्ट्रिय सत्याग्रह अभियानको योजना गर्न थाले। नेपाली काँग्रेसले २०४२ सालमा आफ्नो राष्ट्रिय सत्याग्रह आरम्भ गऱ्यो तर देशनिकाला गरिएका अरू पार्टीहरूले देशभर शृङ्खलाबद्ध रूपमा बम्ब आक्रमणहरू गरेर देशभर आतंक मच्चिएपछि सत्याग्रह एक महिनामै टुङ्गाउनुपऱ्यो।