सिंह प्रजापरिषद सदस्य साबित भए, मुद्दा फैसला, र भद्रगोल जेलका दिनहरू

गणेशमान सिंह प्रजापरिषद सदस्य साबित भए:

राणाशासनको एउटा विशेषता भनेको उनीहरूले प्रमाणबिना जोरजबरजस्ती गर्दैनथे। यदि उनीहरूले गंगालालको घरबाट उनकै हस्ताक्षर भएको पर्चा नभेटेका भए उनलाई पनि त्यसरी केरकार गर्दैनथे।

प्रजापरिषद्सँग सम्बन्धित भएको केहि ठोस प्रमाण नभएकाले सिंहलाई क्रुरतापूर्वक व्यवहार गरिएको थिएऩ। अनुसन्धान बढ्दै गर्दा उनलाई हिरासतमा मात्र राखिएको थियो। एकदिन, नरशम्सेर गणेशमानको कोठातर्फ हुत्तिँदै गाली दिँदै आए। गणेशमानले थाहा पाए कि उनीहरूले उनकाविरुद्ध केहि प्रमाण फेला पारेका छन्।

गणेशमानले प्रजापतिषद्लाई लेखेको प्रतिज्ञापत्र पुलिसले फेला पारेको रहेछ। अरू केहि उपाय नभएपछि, गणेशमानले पार्टीको सदस्य भएको कुरा कबुल गरे।

रातको २ बजेसम्म सोधपुछ भयो। यहि बेला नरशम्सेरले गणेशमानलाई सोधे:

“तिमीलाई के नपुगेको छ? तिमीहरूलाई हामीले कदर गरेका छौँ। तिमी-हामी मिलेर शासन चलाउनुपर्नेमा तिमी यस्तो नचाहिँदो काममा हिँड्ने?”

“कदर गरेर के गर्नु आजको अवस्थामा राणाले जसका छोरी-बेटी उठाएर लगे पनि हुने, नेवारले चाहिँ मामुली क्षेत्रीकी छोरी लग्यो भने पनि उसलाई चारपाटे मुडेर देश घुमाइन्छ। यस्तो अवस्था देखेर लाग्यो यो घोर अन्याय हो, यसको विरोध गर्नुपर्छ। मैले गरेँ”, उनले जवाफ दिए।

“तर तिमी त सिद्धान्तका लागि पनि, यहाँ प्रजातन्त्र ल्याउनका लागि यसमा लागेका होलाऊ,होइन?” सोधपुछ गर्ने अर्को सिपाहीले उनलाई सोधे।

आफूले राजनीतिक विचारभन्दा निजी कारणअघि राखेकोमा उनलाई लाज लागेको कुरा उनी पछि व्यक्त गर्दछऩ्।

उनले उत्तरमा प्रजातन्त्र ल्याउन पार्टीमा आएको भने तर पछि माथवर सिंहसँगको कुराकानीमा गणेशमान सिंह स्वीकार्छन् कि त्यसबेला उनलाई प्रजातन्त्रको ज्ञान निकै सीमित थियो। जीवन बित्दै जाँदा उन्को प्रजातन्त्रको बुझाइ निकै फराकिलो हुने थियो।

मुद्दा फैसला:

यसरी नै सोधपुछ महिनौँ चल्यो। प्रजापरिषद्का सह-संस्थापक टंकप्रसादलाई गणेशमानले नजिकैबाट देखेको यहिँ पहिलोपल्ट थियो। राणाहरूले आचार्यलाई प्रश्न गर्दा उनले दिएका निर्धक्क जवाफले गणेशमान प्रभावित भएका थिए। राणाहरूले जति बल गरेपनि आचार्य झुक्दैनथे।

एक दिन, गणेशमानले टंकप्रसादलाई आफ्नो बहादुरीको रहस्यबारे सोधे: “हेर्नुस् गणेशमान जी, मलाई पक्राउ गरेपछि मलाई एक दिन बहादुर शम्सेरहकँहा लगियो। सोधपुछको क्रममा मैले बहादुरशम्सेरलाई जनतालाई नउक्साउनु भनेर चेतावनी दिएँ। उनी रिसाएर काम्दै मलाई भने कि मलाई केहि नगरेको कारण म बाहुन भएर मात्र हो। जे गरि पनि मार्दैनन् भनेपछि म बैल गोरु भएर गएँ,” आचार्यले आफ्नो रहस्य खुलाए।

आखिरमा मुद्दा फैसला हुने दिन आइपुग्यो। सिंहदरबारमा त्यस दिन ठूलो भारदारी बसेको थियो।

भारदारीलाई सम्बोधन गर्दै, श्री ३ जुद्ध शम्सेर जंग बहादुर राणाले प्रजापरिषद्का सदस्यलाई देशद्रोहीको नामले परिचय गरे, “यिनीहरू को हुन् थाहा छ तिमीहरूलाई? यिनीहरू देशद्रोही हुन्। प्रजापरिषद्को उद्देश्य हिन्दूस्तानका सोसलिस्टहरूसँग मिलेर हाम्रो तख्ता पल्टाउने रे!”

सभामा एक क्षण स्तब्धता छायो। फेरि उनले आफैँ थपे, “यी सबको बीउ छर्ने चाहिँ ऊ त्यो शुक्रराज भन्ने ज्यापू हो। हिन्दूस्तानमा भएको गान्धी भन्नेको लहैलहैमा लागेर यसले यो बीउ छरेको हो।”

जुद्धशम्सेरले आफ्नो कुरा टुंग्याउन नपाउँदै शुक्रराज शास्त्रीले उनको कुरा काटे:

“यो के तमासा हो महाराज? हामीलाई बोल्ने मौका नै नदिई हामीलाई देशद्रोही करार गर्ने पाइन्छ?”  शास्त्रीले आवाज उठाए।

“अझ बोल्छस् ज्यापू? तँलाई अहिलै नै कुल्चाई कुल्चाई मार्छु, के सोचेको छस्?” जुद्धशम्सेर गर्जिए।

शुक्रराजले पनि उत्तिकै फूर्तिका साथ भने, “म महाराजसँग न्याय मागिराखेको छु, दया होइन!”

सभा समाप्त भयो, र उनीहरूले आफ्नो सजायँ पछि सुने – शुक्रराज शास्त्री (जन्मले शुक्रराज जोशी), दशरथ चन्द, गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमालाई फाँसी हुने भयो भने पार्टीका अरू सदस्यहरूलाई जेलसजायँ हुने भयो। र साथै, टंकप्रसाद आचार्य र रामहरि शर्मालाई दामल (अछुत) करार गरियो र उनीहरूलैऐ मुडेर जातिच्युत गरियो।

भद्रगोल जेलका दिनहरू:

जेल करार गरिएका प्रजापरिषद्का सदस्यलाई भद्रगोल जेल पठाइयो। भद्रगोल जेलका भित्ताभित्र भएका जातीय प्रथाका केहि कथाहरू गणेशमान सुनाउँछन्।

टंकप्रसाद आचार्य र रामहरि शर्मालाई दामल (अछुत) करार गरिएको भएर जेलमा भएका अरू साथीहरू उनीहरूसँग एउटै भान्छा गर्दैनथे। गणेशमान निकै अप्ठेरोमा परे। उनलाई आचार्य र शर्मासँग खानमा केहि आपत्ति थिएन तर जेलका अरू साथीहरूले उनलाई पनि अल्ग्याउन थालेपछि उनी एक्लै खान थाले।

अर्कोबेला, आचार्य र शर्मा आफ्ना कोठामा चोख्याउने विधि गरिरहेका थिए।

भएको के रहेछ भने, जातीय भेदभावले दिक्दार भएर उनीहरूले श्री ३ महाराजलाई जात फिर्ता पाउनका लागि आग्रह गरेका रहेछन्। उनीहरूको बिन्ती सुनेर श्री ३ महाराजले उनीहरूलाई छोइछिटा हाल्नु नपर्ने मतवाली जातमा मिलाइदिनू भनेर हुकुम दिए।

यो सब हुँदै गर्दा गणेशमान सिंहलाई आफ्नो जेलजीवनदेखि वाक्क लाग्न थालिसकेको थियो। त्यसैले उनले भाग्ने योजना बनाउन थाले।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर