२०४२ सालको सत्याग्रहको परिणाम
पार्टीको जिम्मेवारी आफ्नो काँधमा परिसकेपछि गणेशमान सिंहले पार्टीका कार्यकर्ताहरूलाई अब निष्क्रिय रहिरहन नहुने निर्देशन दिन थाले। यही क्रममा २०४२मा सत्याग्रह अभियान सुरू भयो। यस अभियान करिब एक महिनासम्म मात्र चले पनि लगभग १५,००० जना यस अभियानमा सहभागी भएका थिए। कैयौँ अभियानकर्ताहरू पक्राउ परे जसमा केहीलाई १४ महिनासम्म पनि रिहा गरिएन।
यस अभियान निम्न कारणहरूले पनि एउटा प्रतीक बन्यो:
एक नयाँ विश्वव्यापी राजनीतिक लहर
सत्याग्रहमा सहभागी भएकामध्ये सबैलाई एकैपटक रिहा गरिएन। त्यसैकारण पार्टीले त्यसपछिको १४ महिनासम्म कुनै अर्को अभियानको योजना गर्न सकेन। तर सिंहले यस समयलाई खेर जान दिएनन् – उनले यो समयलाई विश्वभरको राजनीतिक लहर बुझ्न प्रयोग गरे। र यसपश्चात उनी निष्कर्षमा पुगे कि “नेपालमा प्रजातन्त्र निश्चित रूपमा आउँछ”।
उनले भन्थे, “प्रजातन्त्रको नयाँ लहर आउँदैछ। छिट्टै, निकै छिट्टै आउँदैछ।“
“प्रजातान्त्रिक क्रान्ति विजयी भएको खबर चारैतर्फबाट सुनिँदैछ। दोश्रो विश्वयुद्धपछि राष्ट्रहरू उपनिवेशवादको विरुद्ध लड्दै थिए र राजनीतिक लहर त्यही थियो। उपनिवेशमा परेका राष्ट्रहरूले स्वतन्त्रता पाउँदै थिए। सन् १९६० को दशकमा कैयौँ राष्ट्रहरूको प्रजातन्त्र खोसियो। तर त्यो पनि बदलिँदैछ। पहिले मानिसले ठान्थे कि देशको विकासका लागि एकतन्त्र लाभदायी हुन्छ तर त्यो विचार अहिले परिवर्तन हुँदैछ। धेरै राष्ट्रहरू अहिले प्रजातन्त्रका लागि लडिरहेका छन् र अन्तत: तिनको विजय हुनेछ। अमेरिका, बेलायत, क्यानडा र जर्मनीजस्ता राष्ट्रहरूले प्रजातन्त्रको निम्ति लड्नेहरूको पक्ष लिरहेका छन्। हामी सक्रिय हुने सही समय पनि अहिले नै हो”, उनी बताउँथे।
राजा वीरेन्द्रसँगका कुराकानी
गणेशमान सिंहले विश्वको राजनीतिक लहरको अध्ययनका साथसाथै राजा वीरेन्द्रसँग पनि सम्पर्क कायम राखिरहे।
त्यही समयमा गिरिजाप्रसाद कोइरालाले पनि राजा वीरेन्द्रसँग कुराकानी गरिरहन्थे। उनी दिनानुदिन झनझन् विश्वस्त हुँदै थिए कि राजा वीरेन्द्रले वाचा गरेको प्रजातन्त्र छिट्टै आउनेछ।
पार्टीको बैठकमा गिरिजाले पार्टीका सदस्यहरूलाई राजा वीरेन्द्रको प्रस्तावलाई ध्यान दिन आग्रह गर्थे। शेरबहादुर देउवा, वीपीन कोइराला, शिवबहादुर खड्का र रामचन्द्र पौडेलजस्ता अरू युवा नेताहरू राजा वीरेन्द्रको समर्थन पाउनुपर्छ भन्दै जोड दिन्थे। तर सिंह र कृष्णप्रसाद भट्टराईले युवा नेताहरूसँग कुराकानी गरेर राजा वीरेन्द्रको समर्थनले फाइदा भन्दा हानि पुग्न सक्ने अवस्थाबारे प्रस्टाउँथे।