जनआन्दोलनको तयारी सुरु
त्यस अवस्थामा जनआन्दोलन नै आवश्यक भएको तय गरेपछि गणेशमान सिंहले त्यसका लागि ग्रान्ड डिजाइन गर्न थाले। चाल्नुपर्ने कदमहरूको सूचि बनाउँदा, उनले आन्दोलन थाल्नुअघि यी निम्न बुँदामा ध्यान दिनुपर्ने देखे:
एक सक्षम सुप्रिम लिडरको छनौट गर्ने
सिंहले पार्टीका सदस्यसँग सुप्रिम लिडरको विषय निकाल्दा, सबैले बिना हिच्किचाहट सिंह नै सुप्रिम लिडर हुनुपर्ने बताए।
कारण थियो: सात सालको क्रान्तिमा उनको अगुवाइमा भएको सफलता। त्यसबेला सिंह ३५ वर्षको मात्रै भएपनि उनले आफ्नो दृढ प्रकृति र नेतृत्वकोउत्तम उदाहरण दिएका थिए।
सिंहले पनि सो भूमिका स्विकारे तर कम्युनिष्ट साथीहरूलाई यो स्वीकार्य हुन्छ वा हुँदैन हेरौँ भने।
अरू पार्टीहरूसँग ऐक्यबद्ध हुने
सिंहको अर्को काम कम्युनिष्ट नेताहरूको समर्थन पाउनु थियो। त्यसबेला नेपालको कम्युनिष्ट अभियान टुक्रा-टुक्रा भएर छरिएको थियो। त्यसैले सिंहले उनीहरूलाई सँगै राखेर बैठक गर्न पनि केही समय लाग्यो। त्यसमाथि कम्युनिष्ट नेताहरूको काँग्रेसप्रतिको अविश्वासले पनि यो बाटो अलि कठिन भयो।
तर एक दिन सिंह तुलसीलाल अमात्य, मनमोहन अधिकारी, कृष्णलाल, झलनाथ खनाल र आर.के. मैनालीसँग बैठक मिलाउन सफल भए। धेरैबेरको बहसपछि आन्दोलनपछि कम्युनिष्ट नेताहरूलाई पाखा लगाइँदैन भन्ने आफ्नो व्यक्तिगत ग्यारेन्टी दिएर सिंह तिनको समर्थन बटुल्न सफल भए।
बैठकबाट निस्क्नुभन्दा केही अघि, सिंहले सम्पर्कका लागि सहज हुन्छ भनेर त्यहाँ भएका कम्युनिष्टहरू मिलेर एउटा पार्टी बनाउने सल्लाह दिए। यसपछि सातवटा कम्युनिष्ट पार्टी मिलेर एकीकृत मार्क्सवादी-लेनिनवादी पार्टीको बाटो खुल्यो।
राजालाई सुधार गर्न समय दिने
सिंहको मान्यता थियो कि राजालाई जनताको आन्दोलन संघारमै छ भनेर सूचना दिनु आवश्यक छ। पार्टीले राजालाई “शान्तिपूर्ण तरिकाले बहुदलीय प्रजातान्त्रिक व्यवस्था”मा जान अनुरोध गरेर ५ लाख हस्ताक्षर पनि संकलन गरे। तर उताबाट केही प्रतिक्रिया आएन।
भारतसँग सम्बन्ध सुधार गर्ने
सात सालको आन्दोलनको समयमा नेपाली काँग्रेसले भारतबाट पूर्णरूपमा सहयोग पाएको थियो। तर २०४६ सालको आन्दोलनको अवस्था उही थिएन। भारतले राजा महेन्द्रको पञ्चायत व्यवस्थाको समर्थन गरेको भएपनि २०४४ सालदेखि नेपाल-भारतको सम्बन्ध निकै अमिलो भएको थियो र भारतले नेपालविरुद्ध नाकाबन्दी गरेर आवश्यक सामाग्रीहरूमा रोकसम्म पनि लगाएको थियो। त्यसबेलाका प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले भारतको मागसामु झुक्न इन्कार गरेपछि दरबार र भारतको सम्बन्धमा ह्रास आएको थियो।
सिंह र पार्टी भारतको समर्थन पाइन्छ-पाइँदैन निश्चिन्त थिएनन् तर सम्बन्ध सुधार्ने कदम अघि बढाउनैपर्ने भएको थियो।
प्रजातन्त्रको पक्षमा हुने पश्चिमी मुलुकहरूको समर्थन जुटाउने
भारतका साथसाथै, सिंहले अरू पश्चिमी मुलुकहरूसँग पनि सम्पर्क गर्दै समर्थन जुटाउन थाले। उनले बेलायत, अमेरिका, जर्मनी, फ्रान्स, इस्राएलजस्ता देशलाई आफ्नो अभिप्रायको खबर पठाइरहेका थिए।
प्रेसलाई आफ्नो पक्षमा ल्याउने
नेपालका प्राय: प्रेस सरकारको मातहतमा थिए। तिनीहरूबाट समर्थन जुटाउन खोज्नु बेकार थियो। तर सिंहले केही आँटिला अखबारपत्रहरू र अन्तराष्ट्रिय पत्रकारहरूसँग कुराकानी गर्ने थाले।
जनतालाई जनआन्दोलनका लागि तयार बनाउने
जनआन्दोलनमा जनता नै नभए त्यसको के अर्थ? त्यसकारण सिंह र साथीहरू मुख्य रूपमा जनतालाई क्रान्तिका लागि तयार गर्नमा लाग्न थाले।
सबैभन्दा महत्त्वपूर्ण थियो – जनतामा राज्यको त्रास रहन नदिनू। उनी सार्वजनिक स्थलहरूमा राजा र राज्यविरुद्ध साहसी भाषण दिन्थे जसकारण समय बित्दै जाँदा मानिसहरू उनको पक्षमा आउन थाले।
व्यक्तिगत रूपमा उनी आफूभित्रको डर हटाउन कसैको पनि आत्मामा डर पैदा हुन सक्नेअनकन्टार ठाउँ वा मध्यराततिरध्यान बस्थे।