जनतासँग अपिल
२०४६ सालको जनआन्दोलनको आरम्भ अघि गणेशमानले जनतासँग अपिल गरिरहे ताकि तिनमा राजाको डर बाँकी नरहोस्। बेलाबेलामा उनले आफूलाई उदाहरण बनाउँदै सार्वजनिक ठाउँमा बेजोड भाषण पनि दिन्थे।
“पञ्चायत व्यवस्थाको अन्त्य गर्न र नेपालमा प्रजातन्त्र पुन:स्थापना गर्न जनआन्दोलनको खाँचो छ। यो नेपाली काँग्रेसको आन्दोलन होइन, जनताको आन्दोलन हो। आजसम्म काँग्रेस र कम्युनिष्टहरू एकजुट थिएनन् र दरबारले विभाजक राजनीतिक चाल चल्न सक्थ्यो। तर, अहिले दुवै पार्टी एकजुट भएका छन्, दुवैलाई प्रजातन्त्रको खाँचो महसुस भएको छ”, उनी भन्थे।
“प्रजातन्त्रको लहर आइरहेको छ। विश्वभरि अधिनायकवादी शासनहरूको अन्त्य हुँदैछ। नेपाल पनि त्यही लहरमा पर्नेछ”, सिंहको जुलुस र सभामा सहभागी हुने हजारौँको मनोबल बढाउँदै उनी भन्थे।
सिंह पक्राउ परे
सिंहका प्रयासहरूको चर्चा राजदरबारको कुनाकुनासम्म पनि भयो र अन्तत: २०४६ मंसिर १५मा सिंहलाई पक्राउ गरियो। उनलाई भृकुटी मण्डपको पुलिस क्लबबाट लगियो। आफ्नो गिरफ्तारीको समयमा उनले पत्रकारहरूलाई यसो भने:
“सरकार डराएको छ त्यसैले मेरो नामको पक्राउ पुर्जी जारी गरेको छ। तर सरकारले यो बुझ्न सकेन कि क्रान्ति गणेशमानको होइन – क्रान्ति जनताको हो। मसहित वा मबिना, क्रान्ति अवश्य हुनेछ। मलाई पक्राउ गरेर क्रान्ति रोक्न खोज्नु मूर्खता हो। मैले सबैलाई अवगत गराइसकेँ कि यस राज्य र यहाँका जनताका लागि प्रजातन्त्र अति आवश्यक छ। ओखती तितो नै हुन्छ। खाने कि नखाने बिरामीमा भर पर्छ तर डाक्टरको काम उपचार पत्ता लगाउने हो। प्रजातन्त्र नै हाम्रो उपाय हो भन्ने मैले निदान गरेको छु र म फेरि पनि जोड दिन्छु कि राष्ट्र र जनताको हितका लागि प्रजातन्त्र नै चाहिएको छ।“
जनता सडकमा उत्रिएपछि गणेशमानलाई सरकारले रिहा गर्नै पऱ्यो। यसरी जनता सडकमा उत्रिनु प्रजातन्त्र पुन:स्थापना नगरे के हुन सक्छ भन्ने कुराको संकेत पनि थियो।
“संवैधानिक राजतन्त्र होइन अधिनायकवादको विरुद्ध हौँ”: सिंह
गणेशमानलाई रिहा गर्नुअघि सरकारले सिंहको विरुद्ध मुद्दा चलाउने निर्णय लियो र सो प्रक्रियामा उनको बयान पनि लियो:
“एक देशकोसर्वव्यापकतार स्वतन्त्रता शब्दले होइन कामले कायम हुन्छ। हामी संवैधानिक राजतन्त्रको विरुद्ध छैनौँ, केवल अधिनायकवादको विरुद्ध हौँ। सत्य बोल्दा कसैलाई बिझ्छ भने सायद त्यो व्यक्ति दोषी हुन सक्छ। यसबेला दोषीराज्य छ। तपाईँ हाम्रो शब्दको विश्लेषण गनुभन्दा हाम्रो भावनालाई बुझ्नुहोस्“, उनले न्यायाधीशलाई भने।
सिंह रिहा भएपछि झन् विश्वस्त भए कि राजाको अडान कमजोर हुँदै थियो। “फलाम तातो छ, हिर्काउने अहिले नै हो” भन्दै उनले राज्यभरका विभिन्न साथीहरूसँग सम्पर्क गर्न थाले। यसैका लागि उनले जनतालाई अपिल गर्ने एक भाषण पनि तयार गरे।