सिंह रिहा भएपछि जनआन्दोलनलाई अघि बढाउन उनले देशभरका हजारौँ व्यक्तिहरूलाई व्यक्तिगत पत्र लेखे। त्यस व्यक्तिगत पत्रको व्यहोरा यसप्रकार थियो:
प्रिय ………..
जय नेपाल।
‘ठूलो त्याग र धेरैको बलिदानद्वारा सम्पन्न सात सालको क्रान्तिको उपलब्धिलाई बलपूर्वक समाप्त पारेर पञ्चायत व्यवस्था लादिएको २९ वर्ष भयो। यो अवधिमा बोल्ने, लेख्ने, सभा जुलूस गर्ने र सङ्गठित हुने जस्ता प्राकृतिक अधिकारबाट वञ्चित नेपाली जनताले प्रतिरोधमा उठ्ने अरू वैध बाटो पाएका छैनन्। उनीहरूलाई शोषण, अन्याय, भ्रष्टाचार, मूल्यवृद्धि, तस्करी आदिको विरोधमा उठ्न सम्म दिइएको छैन।
मैले महाराजधिराजसँगको भेटमा राष्ट्रिय सहमतिको पहिलो कदमको रूपमा राष्ट्रिय सरकारको गठन र बहुदलीय आधारमा संसदको निमित्त चुनावको घोषणा हुनुपर्छ भनेको थिएँ। देश सबैको हो, सबैले समान रूपमा सङ्गठित हुने र चुनावमा भाग लिन पाउने अधिकार पाएमा सबै समस्याको समाधान स्वयं जनताले गर्नेछन् भन्ने मेरो धारणा रहेको छ। देश तथा जनताको कल्याण जे गर्दा हुन्छ, त्यही कुरा मैले राजा समक्ष राखेको थिएँ। परिणाम के निस्कियो यहाँहरू सबै सामु छँदै छ।
नेपाल-भारत समबन्धमा उत्पन्न गतिरोधले जन्माएको सङ्कट र अभूतपूर्व महँगीमा समेत सबै राजनीतिक पक्ष र जनताको जस्तो क्रुर उपेक्षा भयो, यो कसैले भुल्न सक्दैन। यस्तो अवस्थामा नेपालीका निम्ति जनआन्दोलनमा उत्रनु बाहेक अर्को विकल्प छैन। तसर्थ आन्दोलन हाम्रो जीवनमरणको प्रशन बनेको छ।
यो आन्दोलन नेपाली जनताको आफ्नो आन्दोलन हो। यो एउटा राजनीतिक दलले सत्ताप्राप्तिका निम्ति गर्ने आन्दोलन होइन। आन्दोलनको लक्ष्य स्पष्ट छ – राष्ट्रिय सरकार र बहुदलीय शासनव्यवस्था! त्यसैले यस आन्दोलनलाई प्रत्येक नेपालीको सहानुभूति, सहयोग र सहभागिता आवश्यक छ।
निहित स्वार्थ भएका प्रतिगामी तत्त्व बाहेक यो आन्दोलनको विपक्षमा अरू कोही होलन् भन्ने मैले ठानेको छैन्। साथै प्रजातन्त्र स्थापनाका निम्ति यो आन्दोलन सफल भएन भने नेपाल र नेपाली कोही कसैको अस्तित्व रहनेछैन।
आज संसारभरि नै परिवर्तन र प्रजातन्त्रको अपूर्व लहर चलेको छ र तानाशाहीका पर्खालहरू धमाधम भत्किरहेका छन्। प्रजातन्त्रको विजयपताका जताततै फहराइएको छ। नेपालमै पनि आन्दोलनको पक्षमा जुन उत्साह देशभर देखिएको छ, त्यो कसैबाट छिपेको छैन। यस्तो अनुकूल राष्ट्रिय एवं अन्तराष्ट्रिय परिस्थिति पहिले कहिल्यै बनेको थिएन। यस्तो अवस्थामा पनि हामी निष्क्रिय अथवा अकर्मण्य रह्यौँ भने हामीले वर्तमानलाई मात्र होइन, भावी पुस्ताको भविष्यलाई पनि अन्धकारपूर्ण तुल्याउनेछौँ। त्यसैले जनआन्दोलनको पक्षमा आफ्नो स्थान, स्थिति र क्षमता अनुसारको सहभागिता तपाईँले प्रमाणित गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु। यस्तो राष्ट्रिय दायित्व पूरा गर्ने अवसर मानवजीवनमा यदाकदा मात्र आउँछ। अहिले तपाईँ हाम्रो जीवनमा त्यो क्षण आएको छ।
देशभरि भ्रमण गरेर आफ्नो विचार प्रकट गर्ने र त्यसबारे यहाँहरूको राय बुझ्ने मेरो इच्छा देशको परिस्थिति र मेरो स्वास्थ्यको अवस्थाले पूरा हुन सकेन, त्यसैले यो पत्रद्वारा सम्पर्क गर्ने प्रयास गरेको छु। राष्ट्रले तपाईँबाट ठूलो अपेक्षा राखेको छ, यो पुनीत कर्तव्य पूरा गर्न तपाईँ पछि पर्नुहुनेछैन भन्ने आशा एवं भरोसा मैले लिएको छु।‘
तपाईँको
गणेशमान सिंह
चाक्सीबारी, काठमाडौँ।