नेपाली काँग्रेसको २०४६ सालको आम सम्मेलनप्रति सरकारको प्रतिक्रिया

नेपाली काँग्रेसको २०४६ सालको आम सम्मेलनप्रति सरकारको प्रतिक्रिया

नेपालले प्रजातन्त्रका लागि चलेका कदमहरूको राष्ट्रिय र अन्तराष्ट्रिय स्तरबाट व्यापक समर्थन आएपछि सरकारले पनि केही कदम लिन थाल्यो। नेपाली काँग्रेसको सम्मेलनकोपहिलो दिन २०४६ साल माघ ५ मा प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ र पञ्चायत नीति तथा जाँचबुझ समितिका अध्यक्ष नवराज सुवेदीलगायतका अरू पञ्चायतका विशेष व्यक्तिहरूको आकस्मिक बैठक बस्यो। उक्त बैठकले निम्न रणनीति तय गऱ्यो:

  • नेपाली काँग्रेसको सम्मेलनमा भारतबाट आएका नेता चन्द्रशेखर बसेकै होटेलमा गइ विरोध एवं ज्ञापनपत्र दिने
  • विदेशीलाई बोलाई नेपालको राजनीतिमाथि प्रभाव पार्न खोज्नु नेपाली काँग्रेसले गरेको जघन्य राजनीतिक हो र सो अपराधको भर्त्सना गर्ने र गराउने
  • प्रधानमन्त्री र जाँचबुझ समितिका अध्यक्ष लगायतले सार्वजनिक रूपमा काँग्रेसको विरोध गर्ने
  • जनआन्दोलनको विरुद्धमा देशैभर प्रतिकार समिति बनाउने
  • दुई हप्ताभित्रै काठमाडौँमा विशाल पञ्चऱ्यालीको आयोजना गर्ने

भारतीय नेता चन्द्रशेखरलाई पत्र

आफ्नो रणनीतिअनुसार पञ्चायतको अति उच्चस्तरीय निर्देशनमा पञ्चायतका केही सभापतिहरू ३०-४० जनाको संयुक्त जुलुस लिएर चन्द्रशेखर बसेका एभरेष्ट शेराटन होटेलमा पुगे र विरोधपत्र दिए। उक्त विरोधपत्रमा भनिएको थियो –

“हामीले तपाईँ भारतका एक उत्तरदायी नेता तथा नेपाली जनताको मित्र भनी सुनेका थियौँ तर विगत दुई दिनमा हाम्रो देशभित्र तपाईँले गर्नुभएको गतिविधिले नेपाली भावनाप्रतिको तपाईँको असंवेदनशीलता औँल्याउँछ। त्यसले तपाईँको नेपाली राष्ट्रियता तथा स्वाभिमानप्रतिको आडम्बरपूर्ण घृणा स्पष्ट पार्छ।

नेपाली राष्ट्रिय संस्थाप्रति अपमान जनाउने तपाईँको अभिप्राय तथा नेपाली जनताको आन्तरिक मामिलामा नग्न हस्तक्षेप गर्ने चाहना अभिव्यक्त हुने तपाईँको खतरापूर्ण दृढतालाई तपाईँको गतिविधिले पुष्ट गरेको छ। तपाईँले हाम्रो देशमा हिंसा उक्साउने प्रयास गर्नुभएको छ। आमजनतामा जाने सामर्थ्य हुनुको सट्टा तपाईँको खुसामदीका लागि मात्र साहस देखाउने केहीको लागि के ठीक के बेठीक भनी निधो गर्न आफैलाई न्यायधीश घोषित गर्नुभएको छ। हामीले त गोरासाहेबहरूको दिन सकिएको विश्वास गरेका थियौँ तर खोक्रो आडम्बरको आडमा तपाईँले अरू राष्ट्रलाई दबाउने र तिनको अस्तित्वको खाका आफूले थोपर्ने चाहना नेपाली जनतालाई देखाउनुभएको छ। तपाईँ फर्किहाल्नुहोस् र आफ्नो जीवनका सबै पक्षमा प्रदर्शित दोधारे नीतिको सम्बन्धमा विचार गर्नुहोस्।“

पञ्चायत नेताहरूको बढ्दो गतिविधि

यसपछि पञ्चायती नेताहरूले देशैभर पञ्चायतऱ्याली, भेला र सभा आयोजना गर्न थाले। तिनले प्रजातन्त्रवादी नेताहरूलाई “विदेशीको बुई चढेका, विदेशीका दलालहरू” जस्ता नाम दिएर गाली गर्थे। अखबारहरूमा प्रजातन्त्रको अभियान गर्नेहरूको घोर भर्त्सना गरिन्थ्यो।

प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठले एक अखबारलाई भने – “विदेशी हस्तक्षेप र प्रभावबाट देशमा प्रजातन्त्र ल्याउने कुरा गर्नु स्वयंमा हास्यास्पद कुरा हो, गैरजिम्मेवारीपूर्ण कार्य हो र राष्ट्रघाती अभ्यास हो”।

यसैगरि, नेपाल टेलिभिजनलाई अन्तर्वार्ता दिँदै नवराज सुवेदीले निम्न बुँदालाई जोड दिए:

  • पञ्चायती व्यवस्था प्रजातान्त्रिक व्यवस्था नै हो। यसको जग सुदृढ र मजबुत छ।
  • यसमा जनताको चाहना र सुझावअनुसार आतंकवादी एवं अस्थिरतावादीलाई ठेगान लगाइन्छ।
  • भारतले आफ्नो विस्तारवाद नेपालमा थोपर्ने नीति अनुसार नेपालमाथि हस्तक्षेप गरिरहेछ।
  • कम्युनिष्टको आडमा काँग्रेसले जनआन्दोलनको कुरा गरिरहेछ, हेर्नुहोला तिनै कम्युनिष्टले एक दिन काँग्रेसलाई विस्थापित गर्नेछन्।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर