सिंह जनआन्दोलनको सर्वोच्च कमान्डर बनाइए

जनआन्दोलन सुरू हुन एक महिना पनि बाँकी थिएन। त्यसकारण नेपाली काँग्रेस र संयुक्त वाममोर्चा तयारीमा अहोरात्र तल्लीन थिए। भर्खरै मात्र गठन भएको संयुक्त वाममोर्चाका लागि विभिन्न जिल्लामा रहेका शाखा, जनवर्गीय संगठन र अन्य विभिन्न स्तरमा तालमेल मिलाउन निकै कठिन थियो। तैपनि मूल कुराहरूमा सहमति कायम गर्न वामपन्थीहरूले बडो मेहेनतका साथ तयारी गरे।

यस क्रममा गणेशमान सिंहलाई जनआन्दोलनको सर्वोच्च कमान्डरका रूपमा दुवै पार्टीले स्वीकार गरे।

यसको लगत्तै पार्टीहरूले विभिन्न तहमा एक्सन कमिटीहरू बनाउन थाले। सबैभन्दा माथिल्लो तहको केन्द्रीय एक्सन कमिटी जगन्नाथ आचार्यको संयोजकत्वमा बनेको थियो र त्यसमा मार्शलजुलुम शाक्य, शैलजा आचार्य, पी.एल्. सिंह, ओमकार श्रेष्ठ र बलबहादुर के.सी. सदस्य थिए। त्यसपछि विभिन्न तहका एक्सन कमिटीहरूमा हरिबोल भट्टराई, तीर्थराम डङ्गोल, श्रीराम श्रेष्ठ, ज्ञानेन्द्र कार्की, प्रकाशमान सिंह, बालकृष्ण खाण र नवीन्द्रराज जोशी थिए।

उता, वाममोर्चाले पनि सहाना प्रधान, राधाकृष्ण मैनाली, श्यामकृष्ण कोजु, सिद्धिलाल सिंह, नीलाम्बर आचार्य, कृष्णराज बर्मा र लीलामणी पोखरेलको एउटा सचिवालय बनायो।

नेपाली काँग्रेसको केन्द्रीय एक्सन कमिटी र संयुक्त वाममोर्चाको सचिवालयले जनआन्दोलनका लागि गणेशमान सिंहलाई सर्वोच्च कमान्डर मानेर साझेदारीमा काम गर्ने सहमति गऱ्यो।

२०४६ साल माघ १९ गतेको विज्ञप्ति

२०४६ साल माघ १९ गते एक विज्ञप्ति प्रकाशित गरी जनआन्दोलनको प्रारम्भिक दुई दिनको कार्यक्रम घोषणा गरियो।

“फागुन ७ गते काठमाडौँमा एक विशाल जुलूस आ-आफ्नो पार्टीको झन्डा बोकेर नगर परिक्रमा गर्दै खुलामञ्चमा गएर आमसभामा परिणत हुनेछ। उक्त आमसभाले आजैदेखि सबै पार्टीहरू खुला र स्वतन्त्र भएको घोषणा गर्नेछ। त्यस सभामा वामपन्थीहरूले पनि भाग लिनेछन्। फागुन ८ गते सम्पूर्ण शिक्षण संस्था र यातायात बन्द गराइनेछ र यो आन्दोलन बहुदलीय व्यवस्था स्थापना नभएसम्म यसै गरी चलिरहनेछ। जनआन्दोलन समाप्त भएको घोषणा हामी नेतात्रयले सार्वजनिक सञ्चारमाध्यमबाट नगरेसम्म जस्तोसुकै अवस्थामा पनि आन्दोलन जारी राख्नूहुन अनुरोध गर्दछौँ।“

गिरफ्तारी, नजरबन्द र प्रेसमाथि दबाब

यस घोषणासँगै पञ्चायती सरकारले जनआन्दोलनको समर्थनमा लेख्ने पत्रपत्रिकाहरूमाथि अत्याचार सुरू गऱ्यो। पत्रपत्रिका जफत गर्ने, प्रेस बन्द गराउने, प्रेस मालिक, सम्पादक र प्रकाशकहरूलाई गिरफ्तार गर्ने क्रम चलाइयो। तर सरकरी आतंक जति बढे पनि पत्रपत्रिकाले आन्दोलनको समर्थनमा लेख्न छाडेनन्।

फागुनको प्रारम्भमा संयुक्त वाममोर्चाकी अध्यक्ष सहाना प्रधानलाई सरकारले गिरफ्तार गऱ्यो। नेपाली काँग्रेसका केन्द्रीय नेता महेन्द्रनारायण निधिलाई जनकपुरमा गिरफ्तार गरियो।

जनआन्दोलन सुरू हुनुभन्दा एक दिन अघि फागुन ६ गते गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालालाई आआफ्नै निवासस्थानमा नजरबन्द गरियो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर