जनआन्दोलन चर्किन्छ, राजा वीरेन्द्रले राष्ट्रिय वक्तव्य प्रकाशित गर्छन्

जनआन्दोलन चर्किन्छ

२०४६ साल फागुन ८ गते: फागुन ८ गते नेपालबन्दको राष्ट्रिय कार्यक्रम थियो। अघिल्लो दिनको विजयबाट उत्साहित भएर जनता नेपालबन्द सफल बनाउन जोडतोडले लागिरहेका थिए।

सिङ्गो देश एक प्रकारले ठप्प थियो।

त्यस॑पछिका दिनहरूमा आन्दोलन झन् चर्कियो। भक्तपुरमा प्रहरीको ज्यादतीको विरुद्धमा जनता उत्रिँदा प्रहरीले १५ राउन्ड गोली चलायो जसले  ४ व्यक्तिको ठाउँको ठाउँमै मृत्यु भयो। यसरी आन्दोलनकारीहरूको मृत्युबारे सुनिसकेपछि पहिले आन्दोलनमा प्रत्यक्ष सहभागी नभएका समूहहरूले पनि जनआन्दोलनलाई समर्थन जनाउन थाले।

हत्या र हिंसाको विरुद्ध नेपाल बार एशोसिएसनको आह्वानमा करिब ३०० जना वकिल सर्वोच्च अदालतको प्राङ्गणमा भेला भए। विद्यार्थीहरूको समूह हरेक दिन जुलूस गरिरहेको थियो। अरूबेला आन्दोलनमा सहभागी नहुने शिक्षकहरू पनि आन्दोलनमा सहभागी भइरहेका थिए।

केही दिनपछि काठमाडौँस्थित कृषि विकास बैँकलगायत अरू संस्थाका सम्पूर्ण कर्मचारीहरूले बेला-बेलामा जनआन्दोलनको समर्थनमा एक घण्टा ‘पेन डाउन’ अर्थात् काम नगर्ने भन्ने विरोध प्रदर्शन गर्न थाले।

साहित्यकार, कलाकार, लेखक, रङ्गकर्मीलगायत अरू व्यवसायीहरूले पनि विभिन्न तरिकाले समर्थन जनाउन थाले। यसरी जनआन्दोलन देशको हरेक कुनामा पुग्न सफल भयो।

सिंहको वक्तव्य

२०४६ साल फागुन १९ गते जनआन्दोलनको पहिलो चरण पूरा भएको थियो। नेताहरू आगामी चरणहरूको तयारीमा लागेका थिए। योजना अनुसार थप आन्दोलन र नेपालबन्दको कार्यक्रम राखिएको थियो। दोश्रो चरण सुरू हुनुभन्दा अघिल्लो साँझ गणेशमानले जनतालाई समर्थनको लागि धन्यवाद व्यक्त गर्दै ऐक्यबद्धता देखाइरहन अपील गरे।

आफ्नो अपीलमा सिंहले बताए कि शान्तिपूर्ण आन्दोलनको उपहास गर्दै पञ्चायत सरकारले हिंसाको प्रयोग गरेको छ। उनले जनतालाई सम्झाए कि जनताको प्रयास खेर जानेछैन। उनले सबैलाई हिंसाको सहारा नलिन, जनआन्दोलन र सरकारलाई असहयोगलाई निरन्तरता दिन आग्रह गरे।

राणा शासनको अन्त्य गर्न शहीदहरूले दिएको बलिदानबारे सिंहले बताए र त्यो बलिदान व्यर्थ हुन नदिन जनतालाई आग्रह गरे। आन्दोलनका क्रममा पक्राउ परेका नेता र आन्दोलनकारीहरूलाई सम्झँदै गणेशमानले पञ्चायत सरकारलाई तानाशाही भएको र त्यस्तो व्यवस्थालाई उल्टाउनै पर्ने बताए।

अन्त्यमा उनले आन्दोलनमा सहभागी भएका सबैलाई धन्यवाद व्यक्त गर्दै भने:

“हिंसा हाम्रो लक्ष्यप्राप्तिको साधन होइन, परन्तु हिंसा हामीमाथि लाद्नेहरूले यो शाश्वत सत्यलाई बुझून् कि प्रत्येक क्रियाको स्वभाविक प्रतिक्रिया हुन्छ।“

 

राजा वीरेन्द्रको वक्तव्य

राजा वीरेन्द्रको शब्दमा:

“कुनै पनि राजनीतिक व्यवस्था स्वयंमा साध्य नभई जनताको हक, हित र उन्नतिका निम्ति स्थापित साधन मात्र हो। हाम्रो राजनीतिक परम्परा लोकसम्मति नै राजनीतिक प्रणालीको आधार मानिएकाले राष्ट्रिय जनमतसङ्ग्रहद्वारा जनताको निर्णय अनुरूप पञ्चायती व्यवस्था कायम रहेको सबैलाई थाहै छ। लोकसम्मति अनुरूप विगतका अनुभवहरू सँगाली आगामी दिनहरूमा जनताका इच्छा र आकाङ्क्षा पूरा गर्न सक्षम हुँदै जान सक्नु नै पञ्चायत व्यवस्थाको गतिशीलता हो। त्यसैले बितेका तीन दशकभित्र हामीले समायोचित सुधार गर्दै आएका छौँ र आउँदा दिनहरूमा पनि नेपाली जनताको चाहनाअनुसार सुधार गर्ने क्रम जारी नै रहनेछ। संवैधानिक मर्यादाभित्र रहेर नै कुनै पनि समस्याको समाधान खोज्ने प्रक्रिया र परिपाटी अंगाल्नु प्रत्येक प्रजातन्त्रमा विश्वास राख्नेहरूको कर्तव्य हुन्छ भन्ने हामीले बिर्सनु हुँदैन।

शान्ति, स्थिरता र सुरक्षामा खलल पार्ने कुनै पनि असंवैधानिक क्रियाकलापले प्रजातान्त्रिक अधिकारको उपभोग र विकासमा बाधा पुऱ्याउँछ। यसबाट कसैको हित हुँदैन भन्ने तथ्यलाई समेत सबैले बुझ्नुपरेको छ। प्रत्येक नेपालीले आपसी समझदारी, अनुशासन र कटिबद्धताका साथ एकताबद्ध भएर राष्ट्र र समाजप्रति आफ्नो जिम्मेवारी पूरा गर्न सक्नुपर्छ। जनताको आस्था,विश्वास र समर्थनलाई निरन्तर कायम राख्न जनताको सेवा र आफ्नो आचरण नै मुख्य आधार हो भन्ने तथ्य राजनीतिक कार्यकर्ताहरूले कहिल्यै बिर्सनु हुँदैन।

नेपाल र नेपालीको भाग्यनिर्माता अरू कोही होइन, नेपाली नै हुन् र नेपालको स्वाभिमानको जगेर्ना गर्ने अठोट र सङ्कल्प पनि नेपाली मात्रको एकतामा नै निहित छ।“

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर