जनआन्दोलन तेस्रो चरणतर्फ लम्किन्छ
आन्दोलनको दोश्रो चरणमा पहिलो चरणको तुलनामा जनताको सहभागिता बढ्यो। गिरफ्तारीको सङ्ख्या कम भएको देख्दा नेताहरूलाई आन्दोलन झन्-झन् उपलब्धिपूर्ण हुँदै गएको महसुस भइरहेको थियो। सिंह विश्वस्त थिए कि आन्दोलन प्रभावकारी र सफल भइरहेको छ।
त्यसैकारण दोश्रो चरणका कार्यक्रमहरू अन्त्य हुनेबित्तिकै सिंहले तेस्रो चरणको आन्दोलनको घोषणा गरे।
जनताले सरकारलाई असहयोग गर्ने योजनालाई निरन्तरता दिँदै तेस्रो चरणमा केही अरू किसिमले आन्दोलन गर्ने निर्णय गरियो:
सिंहका प्रश्नहरू
तेस्रो चरणका कार्यक्रमहरू घोषणा गर्दा गणेशमान सिंहले जनआन्दोलनको सर्वोच्च कमान्डरको हैसियतबाट निम्न प्रश्न राखे:
यी प्रश्नहरू जनतासामु राखेर सिंहले पञ्चायत व्यवस्थाको अन्यायतर्फ सबलाई ज्ञात गराए र यस्ता अभ्यास गरिरहेको संविधानविरुद्ध आवाज उठाउन हौसला प्रदान गरे।
देशव्यापी रूपमा बत्ती निभाउने कार्यक्रम
बत्ती निभाउने कार्यक्रमको तीन दिन अघि घोडेजात्रा थियो। टुँडिखेलमा जात्रा हेर्न जम्मा भएका सबैले देख्ने गरी त्यस दिन नयाँ किसिमको आन्दोलन कार्यक्रम भयो। राजारानी लगायत उच्च पदस्थ अधिकारीहरू उपस्थित भएको ठाउँमा भकारी जत्रा ठूलठूला बेलुनहरू नेपाली काङ्ग्रेस र कम्युनिष्टपार्टीका झन्डा बोकेर शाही सैनिक मञ्च वरिपरिको आकाशमा उडाइए। त्यो अनौठो दृश्य देशैभर ठूलो चर्चाको विषय बन्यो।
तीन दिन पछि, चैत १६ गते बत्ती निभाउने कार्यक्रमको दिनमा पनि आन्दोलनकारीहरू कार्यक्रमको प्रचारप्रसारमा व्यस्त थिए। ठिक ७ बजे देशभर अध्याँरो भयो।
यस बत्ती निभाउने कार्यक्रमले आन्दोलनलाई अकल्पनीय उचाइसम्म पुऱ्याइदियो। पहिले आन्दोलनमा प्रत्यक्ष रूपमा सहभागी हुन अप्ठेरो मानेका जनतालाई यस कार्यक्रमले आफ्नो समर्थन देखाउन निकै सहज पारिदियो।
बत्ती निभेपछि पञ्चायत व्यवस्थाविरुद्धका नाराहरू हरेक घरबाट सुन्न सकिन्थ्यो। कैयौँ मानिसहरू मशाल जुलुसमा पनि निस्किए।
आन्दोलनका अरू कार्यक्रमहरू पनि व्यापक रूपमा सफल भए। चैत २१ र २२ गते राजधानीका प्रमुख शहरहरू पाटन, भक्तपुर र कीर्तिपुरले आफूलाई मुक्तक्षेत्र घोषणा गरे।