पर्खाल काण्ड, सिद्धिचरण श्रेष्ठ र जेलबाट भाग्दा

पर्खाल काण्ड र सिद्धिचरण श्रेष्ठ:

एकपटक, गोपी च्यामे नाम गरेका एक कैदीले सिंहलाई भाग्न सहयोग गर्ने बताए। जेलको चर्पी-नाला सफा गर्ने गोपीचालाई जेलको बनोट कण्ठ थियो। गोपीचा खास, ब्राह्मण भएर नेवार केटी बिहे गरेका अपराधमा केद गरिएका थिए। उनको जात खसाएर उन्लाई च्यामे करार गरिएको थियो।

गोपीको योजना भित्रबाट पर्खाल फोड्ने थियो। प्वाल बनाउन सफल भएपनि, अधिकारीहरूलाई भाग्ने दिनमै सो योजनाको पत्ता लाग्यो, र भाग्ने योजना विफल भयो।

गणेशमान बेलाबेला किन गोपीचाले उनलाई सहयोग गर्ने प्रयास गरेको होला भनि सोच्थे। सिंहले सोच्न सक्ने एउटै कारण भनेको, ‘सायद गोपीचाले मान्थे कि राणाहरूलाई उल्टाएर मात्र जातीय विभेदको अन्त्य गर्न सकिन्छ।‘

सिंहसँगै देशद्रोहको अपराधमा कैद गरिएका सबैलाई भद्रगोल जेलभित्रको अर्को जेल गोलघरमा राखिएको थियो। गोलघर ६ फिटको भित्ताले घेरिएको थियो। भित्री पर्खालपछि, १६ फिटको दूरीमा अर्को २२ फिटको पर्खाल थियो।

सिंहलाई लाग्यो कि भाग्ने एउटै तरिका भनेको पर्खाल नाघ्नु हो। उनले ६ फिटको पर्खाल चढेर कपडाले बनाएको डोरी लगाएर २२ फिटको पर्खाल नाघ्ने निधो गरे।

यसै समयमा, जेल प्रशासनले भित्री पर्खाल बढाएर १२ फिटको बनाउने प्रयास गर्दै थियो। सिंहका लागि यो समाचार निकै तनावपूर्ण थियो। त्यसैले अरू कैदी साथीहरूसँग मिलेर उनले राणा सरकारलाई त्यहि पर्खालको उँचाइ नबढाउन बिन्ती गरे। उनीहरू तर्क थियो कि अग्लो पर्खालले घाम र हावालाई छेक्छ र कैदीहरूको स्वास्थ्यमा हानि पुग्छ।

सबै कैदीले नयाँ पर्खालको निर्माण ७ दिनभित्र बन्द गर्नुपर्ने माग गरे र यदि सो नगरे भोक हड्ताल गर्ने चेतावनी दिए। छैठौँ दिनसम्म कुनै प्रतिक्रिया आएन।

आखिरी रात, एउटै कोठामा भएका सिद्धिचरण र गणेशमान व्याकुल हुन थाले। सिद्धिचरणले पाटीमा खरीले ठूलो आवाजमा केहि लेखिरहेका सिंहको कानमा परिरहेको थियो। मध्यरातमा, श्रेष्ठले सिंहलाई उठाए।

श्रेष्ठ: गणेशमानजी, भोलिदेखि तपाईंसित यो जीवनमा फेरि भेट हुन्छ कि हुँदैन ठेगान छैन। यस्तो अवस्थामा तपाईंलाई कोसेली कसरी नदिऊँ भन्ठानेर मैले एउटा कविता लेखेको छु। सुनाऊँ?

सिंह: सुनाउनुहोस् न!

श्रेष्ठले पर्खालकाण्ड सुनाए, जसले सिंहको मनमा आत्मविश्वासको प्रादुर्भाव भयो।

जिउनु हैन मर्न रोज्छु,
जिउनु हैन मर्न रोज्छु,
धर्म, गंगा, शुक्र, दश रथ,
भेट्न जाने मार्ग रोज्छु,
जिउनु हैन…..

चिर सनातन सत्यलाई
म अङ्गालो हाल्न जान्छु
प्रेम शीतल श्रोत माथि
स्नान गर्ने योग डुड्छु
जिउनु हैन……

जन्म जरा व्याधिहरुको
तिक्ष्ण दन्सन साम्य पार्छु
सानो कणु एउटा गएर
विश्व नुतन सृस्टिम गर्छु
जिउनु हैन…..

मर्न होइन जिउनु रोज्छु,
अमरता त्यो ओढ्न खोज्छु
देशको कालो पखाल्न
रक्तधर बगाइदिन्छु
जिउनु हैन……

भद्रगोल जेलबाट भाग्दा:

सातौँ दिनमा जुद्धशम्सेरको निर्णय आयो – पर्खालको उचाइँ १२ फिटको हुने भयो। तर, कैदीहरूको माग अनुसार पर्खाल अलि पर बनाइने भयो।

यो निर्णय सिंहका लागि आशीर्वादझैँ भयो। अंकुसे फाल्ने उनको काम सजिलो हुने भयो। एकतिर भित्री पर्खालमा फाल्न ६ फिट थपियो, र अर्कोतिर दुई पर्खालबीचको दूरी पनि घट्यो।

उन्ले एक औंसीको रात आफ्नो योजना पूरा गर्ने निधो गरे। चन्द्रमान कम्पाउन्डर र पूर्णबहादुर एम. ए.ले उन्लाई सहयोग गर्ने भए।
भाग्ने बेला, भित्री पर्खाल पुगेपछि पूर्ण बहादुरले सिंहलाई आफ्नो काँधमा चढ्न इशारा गरे। सिंह सजिलै पर्खाल चढे। माथि पुगेपछि, उन्ले अंकुसे बाहिरी पर्खालतिर फाले। तीन प्रयासपछि अंकुसे अड्कियो।

गणेशमान जोशिए – तर काम अझै अधुरो थियो।

दोश्रो पर्खाल पुगेर, सिंह कपडाको डोरी समाएर चढ्न थाले। उनी २२ फिटको पर्खाल लगभग एकै सासमा उक्लिए। माथिबाट डोरी ताने र पर्खालको बाहिरतर्फ फाले। डोरीको लम्बाइ सकिएपछि पनि भुइँ नभेट्दा उनी थोरै चिन्तित भए तर उनले आशा छाडेनन्।
“ड्वाम्म!” उनी जमिनमा उत्रिए।

कैयौँ प्रयास र चार वर्ष जेल बसेपछि सिंह मुक्त भए।

आफूलाई सम्हालेर, उनी रातको अध्याँरोमै हिँडिरहे। टुँडिखेल पुगेपछि मात्र उनले आफ्नो खुट्टाका नेल (जन्जीर) फुकालेर फालिदिए।

“मलाई १.७ डिग्री मात्र ग्र्याभिटेसन भएको चन्द्रलोकमा हिँडिरहेको छु जस्तो लागेको थियो”, गणेशमानले माथवर सिंहलाई पछि बताउँछन्।

सिंह भक्तपुर जान खोजिरहेका थिए, तर जुन बाटो गए पनि कुकुरले उन्को बाटो रोक्थे। त्यसैले उन्ले लामो बाटो लिए। टुँडिखेलबाट विष्णुमति हुँदै शोभाभगवती पुगे। शोभाभगवतीबाट उनी बानेश्वर जानुपर्ने तर बाटोमा उन्ले दुईजना पुलिसलाई छल्नुपऱ्यो। त्यसैले उनी इन्द्रचोक फर्किए। इन्द्रचोकबाट जाँदै गर्दा उनी येत्खाको आफ्नो घरैमुनिबाट अघि लाग्दा को उठिरहेको होला भन्ने सोच्दै थिए। पछि सिंहलाई थाहा भयो कि मङ्गलादेवी सोहि रात उन्ले बोलाएको ठानेर झ्यालमा गएकि रहिछन्।

चाँडै उज्यालो हुन लागेको थियो, र गणेशमानलाई बास चाहिएको थियो, चाँडोभन्दा चाँडो। र त्यसैले उनी इटुम्बहाल हुँदै किलागल गए जहाँ उनले पूर्णबहादुर एम.ए.का बुबासँग सहयोग माग्ने निश्चय गरे।

काठमाण्डौ छोड्दा:

पूर्णबहादुरका बुबाले गणेशमान सिंहलाई सूर्यबहादुर भारद्वाजकहाँ सहयोग माग्न सुझाव दिए। त्यसैले उनी नरदेवीस्थित सूर्यबहादुरको घर पुगे।

सूर्यबहादुर भारद्वाजका लागि गणेशमानको आगमन आश्चर्यजनक थियो – उनले सिंहलाई झट्टै भित्र ताने। अब उनले तुरुन्तै एक निकै कठिन निर्णय लिनुपर्ने थियो।

सूर्यबहादुरले सिंहलाई कोठामा ताल्चा मारेर मद्दत खोज्न निस्किए।

पर्खिँदै गर्दा गणेशमानको मनमा निकै प्रश्न उठे – भारत कसरी पुग्ने होला? सूर्यबहादुरले पुलिस बोलाउन पो गएको हो कि?

बाहिर झिसमिस उज्यालो भइसकेको थियो र आँखीझ्यालबाट घामका पहिलो किरण गणेशमानका आँखामा परे। एकैछिनमा कोहि घरभित्र आयो – उनी शम्भुराम थिए। केहि मिनेटपछि सूर्यबहादुर पनि आइपुगे र उनीहरूले सिंहलाई अहिलेका लागि भीमढुङ्गामा भएको शम्भुरामको मोहीको घरमा राख्ने बताए।

सिंहले लुगा फेरेर फाटेको पुरानो दौरा-सुरुवाल लगाए, र तीनजना भीमढुङ्गातर्फ लागे। भीमढुङ्गा पुगेपछि, शम्भुरामको मोहीको घरको उकालो नपुग्दै सूर्यबहादुर अरू आवश्यक बन्दोबस्त मिलाउन फर्किए।

गन्तव्य पुगेपछि शम्भुराम पनि सिंहलाई त्यहिँ छाडेर निस्किए।

डाँडाबाट सिंहले बल्ल राम्ररी सास फेर्ने मौका पाए। उनले काठमाण्डौ उपत्यकाको पश्चिममा घाम ढलेको निकै नियालेर हेरे। उनी सूर्यबहादुरलाई पर्खिरहेका थिए। तर, साँझ फर्किन्छु भनेका सूर्यबहादुर १० बजेसम्म पनि फर्केनन्।

आत्तिएका सिंह निस्किन खोजे, तर घरपतिले सिंहलाई रात बिसाउन कर गरे।

“यस्तो परेवाको रात, सारा अन्धकार छ, जङ्गलको बाटो जानुपर्छ, बाघ-भालुको डर छ, निक्लनु हुँदैन नानी।” घरपतिले भने।
धेरै करकापपछि सिंह बिहानै निस्किने सहमति भयो। घरपति, उनकी श्रीमती र सिंहले सँगै खाना खाए, र सिंह पल्टिए। दुई दिनदेखि नसुतेका गणेशमान पल्टनेबित्तिकै निदाए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर