राज्यको अर्थव्यवस्थालाई अपाङ्ग तुल्याउन फैलाइएको हल्ला

राज्यको अर्थव्यवस्थालाई अपाङ्ग तुल्याउन फैलाइएको हल्ला

जनआन्दोलनको तेस्रो चरणको अन्त्यतिर, गोरखापत्रमा कार्यरत एक जना पत्रकार शरच्चन्द्र वस्तीले एउटा जुक्ति निकाले –राज्यको अर्थव्यवस्थालाई अपाङ्ग तुल्याइदिने एउटा रणनीति। आन्दोलनका सर्वोच्च कमान्डरबाट अनुमोदन गराएर उनले निम्न अपील प्रकाशित गरे:

“देशमा प्रजातन्त्रको पुन:स्थापनाका लागि चलिरहेको जनआन्दोलनलाई दबाउन भनेर वर्तमान सरकारले नेपाली बैङ्कहरूमा तपाईँहरूले जम्मा गरेको रकम लगातार निकालिरहेको छ। बितेको ३५ दिनभित्रमा सरकारले एक अर्ब रूपैयाँभन्दा बढी निकालिसकेको छ भने विगत एक हप्तायता त्यसको दोब्बर रकम निकाल्ने हरेक बैङ्कलाई उच्चस्तरीय दबाब लगातार आइरहेको छ। हामी बैङ्क कर्मचारीहरूले जति चाहेर पनि त्यसको प्रतिकार गर्न सक्ने अवस्था अब रहेन। पैसा दिन अस्वीकार गरेमा जागिर र जेल मात्र होइन ज्यानको समेत धम्की आउन थालेको छ।

यही क्रम जारी रहेमा अब एक वा दुई हप्ताभित्रै नेपाली बैङ्कहरू टाट पल्टिने र दिवालिया हुने अवस्थामा पुगिसकेका छन्। तपाईँहरूले रगत-पसीना बगाएर कत्रो आशाले जम्मा गरेको रकम यसरी भुस हुन लागेको देखेर हामी नराम्रोसँग छटपटिएका छौँ। हाल झिकिएको र झिकिन लागेको अधिकांश रकम पम्फादेवी जस्ता नक्कली नामधारीहरूको विदेशी बैङ्क खातामा जम्मा गर्ने षड्यन्त्र हुन लागेको चाल पाएर पनि हाम्रो आत्मा रोइरहेको छ।

त्यसैले हामी समस्तलाई आफूले जम्मा गरेको सम्पूर्ण रकम बैङ्कबाट यथाशक्य चाँडो, आज वा भोलि नै झिकेर आ-आफ्नो बैङ्क खाता बन्द गर्नुहुन हार्दिक अपील गर्दछौँ। तपाईँहरूको सम्पत्तिमाथि ब्रह्मलुट हुन लाग्दा पनि चूप लागेर बस्न खोज्दा हाम्रो आत्माले नै हामीलाई धिक्कारेको हुँदा यो अपील गर्न विवश भएका छौँ। रकम तपाईँहरूको, त्यसलाई के गर्ने भन्ने इच्छा पनि तपाईँहरूको। तर भोलि बैङ्कहरू टाट पल्टिएपछि तपाईँहरूले ‘समयमै सूचना नदिएको’ दोष लगाउन पाउनुहुनेछैन।

आउनुहोस्, आफ्नो सम्पत्तिलाई लुटिनबाट जोगाउनुहोस्। चाँडो गर्नुहोस्, बैङ्क डुब्नुभन्दा अघि नै आफू जोगिनुहोस्!”

यो अपील बिजुलीको गतिले देशभरि व्याप्त भयो। फलत: बिहान बैङ्कहरू खुल्न पाउँदानपाउँदै आफ्नो पैसा निकाल्न बैङ्कका शाखाहरूमा हजारौँको भीड लाग्न थाल्यो।

रेडियो स्टेशन स्थापना गर्ने योजना

आन्दोलनको तेस्रो चरणको प्रारम्भदेखि नै छिनछिनमा परिस्थिति बदलिरहेको हुन्थ्यो। जनताको समर्थन प्रचुर रूपमा बढेपनि सबैतिर सन्देश पुऱ्याउने सञ्चारको भने कमी थियो। यसका निम्ति आन्दोलनकारीहरूसँग ‘जनआन्दोलन समाचार’ नामक समाचारपत्र बाहेक अरू केही थिएन। यस्तो अवस्थाको निम्ति केहीलाई एउटा रेडियो स्टेशनको आवश्यकता महसुस भयो। तसर्थ, केही पत्रकारहरूले सल्लाह गरेर एक कामचलाउ रेडियो स्टेशन स्थापना गर्ने योजना बनाउन थाले। यस रेडियो स्टेशनले यथासमयमा देशभरि छरिएका आन्दोलनकारीकहाँ सूचना र सर्वोच्च कमान्डरको सन्देश पुऱ्याउन सक्थ्यो।

तर राज्यले यस्तो रेडियो स्टेशनका लागि स्वीकृति नदिने भएकाले, यसको योजना गुप्त रूपमा गरियो।

नवीन चित्रकार, माथवर सिंह र शरच्चन्द्र वस्तीले छलफल गरी यस रेडियो स्टेशनको स्थापना गर्ने काम अघि बढाउन थाले। घनेन्द्रपुरूष ढकाललाई आवश्यक रकम करीब एक लाख रूपैयाँको जोहो गर्ने दायित्व प्रदान गरियो।

राजा वीरेन्द्रले मरिचमान सिंहलाई प्रधानमन्त्रीको पदबाट बर्खास्त गर्छन्

आन्दोलनले दिन दुई गुना रात चौगुना पकड जमाउँदै गयो। आन्दोलनद्वारा उत्पन्न परिस्थितिबाट राजा केही कदम चाल्न बाध्य भए। उनले आफ्ना विश्वासपात्रहरूलाई दरबारमै बोलाइ आन्दोलनको समीक्षा र सल्लाह गरिरहेका थिए। अवस्था झन्-झन् नाजुक हुँदै थियो।

तसर्थ, एउटा बैठकमा उनले मरिचमानलाई देशको प्रधानमन्त्रीको पदबाट हटाउने निर्णय गरे। केही दिनअघि मात्र पुनर्गठित मरिचमान सिंहको मन्त्रीपरिषद् विघटन भयो र लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाइयो। नयाँ मन्त्रीमण्डलमा नयनबहादुर स्वाँर, पशुपतिशमशेर राणा, अच्युतराज रेग्मीहरू मन्त्री बनाइए।

यो मन्त्रीमण्डलमा केही मन्त्रीहरू काङ्ग्रेसको नजिक रहेका हुनाले काँङ्ग्रेससँग कुरा मिलाउन मिल्छ कि भनी राजा वीरेन्द्रले आशा गरेका थिए।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर