बाल्यकाल:
‘गणेशमान सिंहको जन्म १९७२ साल कार्तिक २४ गते भएको थियो । ८२ वर्षपछि दशौँ लाख नेपालीहरूले उनको मृत्युशोक मनाउने छन् वा पुस्तौँपुस्तासम्म उनलाई प्रेमभाव सहित सम्झने छन् भन्ने कसैलाई अनुमान थिएन ।
१९७२ साल अर्थात् सन् १९१५ मा विश्वराजनीतिलाई प्रथम विश्वयुद्धले आकार दिँदै थियो र दक्षिण एसियाको ठूलो हिस्सामा औपनिवेशिक ब्रिटिश राज कायम थियो । नेपालको शासक वर्गमा राणाहरू थिए । श्री ३ महाराजा चन्द्र शमशेर देशका प्रधानमन्त्री थिए र राजाको हैसियत आलंकारिक मात्रै थियो ।
गणेशमानले यस जगतमा पहिलोपटक आँखा खोलेको स्थान हनुमानढोका राजदरबार नजिक भएको विडम्बना उनले माथवर सिंहसँग व्यक्त गरेका थिए। यहि दरबारमा कब्जा गरेर पृथ्वीनारायण शाहले आधुनिक नेपालको एकीकरणको जग बसालेका थिए र यहि दरबारमा शक्ति हडप्न जंगबहादुरले कोत पर्वको नरसंहार मच्चाएका थिए।
सिंहले आफ्नो जीवनकालमा देशमा प्रजातन्त्र स्थापना गर्न दुवै कुलका विरुद्ध संघर्ष गर्नेवाला थिए — पहिले जहानिया राणा शासनविरुद्ध र त्यसपछि शाहवंशविरुद्ध।
गणेशमान सानै छँदा उनका बुवा ज्ञानमानको देहावसान भयो । उनको आफ्ना बाजेको पनि ३३ वर्षको उमेरमै मृत्यु भइसकेको हुनाले गणेशमानलाई जेठा हजुरबुवा रत्नमानले हुर्काए । गणेशमानको जन्मको समयमा सरदार पदमा कार्यरत रत्नमानले राणाहरूको सेवामा कालान्तरमा बडाकाजीको पदसम्म उन्नती गरे ।
आफ्नो बाल्यकालमा गणेशमान चकचके केटो थिए — प्राय: चोकगल्लीमा गुच्चा खेल्न र बागमतीमा पौडिन स्कुलबाट भागिरहेको भेटिन्थे ।
गणेशमानको यस स्वभावबारे बाल्यकालका यी दुइ घटनाले धेरै सत्य उजागर गर्छन्:
बागमती घटना:
एकपटक बर्षायाममा गणेशमान र उनका साथीहरू पौडेर बागमती तर्न हौसिए — नदीमा बाढी आएको थियो र वेगले बग्दैथियो । नदीको वेगसँग तर्सिएका साथीहरू आफ्नै किनारतर्फ फर्किन बाँकटे हान्दै गणेशमानलाई पनि बोलाउन थाले । तर गणेशमान त्यसो गर्न मानेनन् र नदी तर्ने आँट लिएर पारीतर्फ पौडिरहे ।
तर नदीको मझधारमा पुगेपछि उनी डुब्न थाले । नदीले उनलाई बगाएर विष्णुमतीसँग टेकुको दोभानसम्मै लग्यो । खेतमा काम गरिरहेका किसानले देखेपछि उनलाई समात्न बाँस दिएर नदीको तीरमा ताने ।
‘एकपटक कदम चालेपछि पछाडि नहट्ने, फर्केर नहेर्ने मेरो सानैदेखिको बानी हो,’ उनले भनेका छन् ।
दरबार स्कुल घटना:
आफ्नो बुवाको मृत्युपछि गणेशमान सिंहलाई दरबार स्कुलमा भर्ना गरियो । स्कुलमा एकदिन चिटिक्क कपडामा ठाँटिएको यौटा केटोले गणेशमानलाई अश्लिल दोहा सुनाएर सम्बोधन गर्यो । गणेशमानलाई त्यो पटक्कै मन परेन — उनले केटोलाई एक चड्कन लगाइदिए । आँसुले टिलपिल आँखा लिएर केटो हेडमास्टरलाई गुनासो लाउन पुग्यो ।
गणेशमानलाई हेडमास्टरको अफिसमा बोलाइयो र राणाजीमाथि हात उठाउने उनको हिम्मत कसरी भयो भनेर सोधियो ।गणेशमानलाई सजाय दिन हेडमास्टरले आफ्नो छडीतिर हात लम्काउदै गर्दा गणेशमान फुत्किएर अफिसबाट कुलेलम ठोके – त्यसपछि कहिल्यै पनि स्कुल फर्केनन् ।
आफ्नो बचावमा केहि पनि बोल्ने मौका नदिइएकोमा गणेशमानलाई साह्रै रिस उठेको थियो र हेडमास्टरले आफूमाथि अन्याय गरे भन्ने महसुस गरेका थिए।
तर आफूले स्कुल जान छोडिदिएकोबारे गणेशमानले कसैलाई पनि नभन्ने निर्णय गरे । स्कुल लाग्ने समयमा उनी घरबाट निस्कन्थे र यताउता हल्लिएर दिन काट्थे । तर यो उपाय धेरै दिन चलेन — आखिरमा उनको बदमासी समातियो ।
जब उनलाई उनकी हजुरआमाको अघि हाजिर गराइयो, उनले गणेशमान पढाइमा रुचि दिने मानिस हैनन् भन्ने लख काटिन् र परिवारका बाँकी सदस्यहरूझैँ गणेशमानलाई पनि व्यापारमा संलग्न गर्ने निर्णय लिइन् ।
तर गणेशमानका हजुरबुवा रत्नमान काजीले यो सुझाव नमानेर घरमै पठनपाठन गराउन मास्टर राख्ने चाँजो मिलाइदिए