शहिदहरूसँगका भेट

शहिदहरूसँगका भेट:

नेपालका चार शहिद (शुक्रराज शास्त्री, गंगालाल श्रेष्ठ, धर्मभक्त माथेमा र दशरथ चन्द) मध्ये, गणेशमान सिंहका सुरुवाती राजनीतिक समय तीनजना (शास्त्री, श्रेष्ठ र माथेमा) सँग धेरै गाँसिएको छ। उनीहरूसँग भएको अनुभवहरू उनको जीवनमा सबैभन्दा गम्भीर प्रभाव पारेका अनुभवहरूमध्ये एक थिए, जसले उनको राजनीतिक झुकावमा ठूलो योगदान गरेको छ।

शहिद शुक्रराज शास्त्री:

शुक्रराज शास्त्रीसँग गणेशमान सिंहको भेट पहिलोपल्ट कलकत्तामा भएको थियो जहाँ शास्त्री दार्शनिक भाषण दिँदै थिए। दर्शक सिंहले उनलाई होच्याउने नियतले एक व्यक्तिगत प्रश्न गरे, “तपाईं जस्तो मान्छेले बयालीस वर्षको उमेरमा तरुनी स्वास्नी किन बिहा गर्नुभएको?” सिंहले पछि स्वीकार्छन् कि त्यस्बेला उनी आफू हीनभावनामा बोलेका थिए, र पछिका वर्षहरूमा शुक्रराज शास्त्रीप्रति उनमा आदरको भावना धेरै विकास भएको थियो।

सिंह र शास्त्रीको सम्बन्ध बनिरहन्छ र विकास हुन्छ तर त्यो कथा केहि पछि।

गंगालाल श्रेष्ठसँगको खाना:

एकदिन, सिंह काठमाण्डौ फर्किसकेपछि, सिंह र शहिद गंगालाल श्रेष्ठ दुबैका साथीले गणेशमानलाई खाना खान बोलाए।

“भरे मैले गंगालाललाई बोलाएको छु, तपाईं पनि आउनुस् है, “उनका साथीले भने।

गणेशमान सिंहको अहम् जगिहल्यो। मलाई पहिला बोलाएर अनि गंगालाललाई पनि बोलाए कसो होला भन्नुपर्थ्यो भन्दै उनी साथीसँग रिसाए।

तर पनि, पछि उनले खानाको निमन्त्रणा स्वीकारे।

खाना खाने बेलामा परिचय गर्दैगर्दा गणेशमान सिंहले गंगालाललाई होच्याएर महाभारतको उत्तरकुमार भनिदिए।

“महाभारतको लडाईंमा उत्तरकुमार पाण्डवहरूका तर्फबाट लडाईंमा भाग लिन गएका थिए। जानुअघि उनले आफ्नो साहसको धाक दिए पनि, युद्धभूमिमा पुगेपछि कौरवको फौज देखेर उनी सुइँकुच्चा ठोकेर भागेका थिए।“

सिंहको तुलना गंगालाललाई केहि समयअघि राणाहरूले दिएको माफीसँग सम्बन्धित थियो।

तर, सिंहले गंगालालप्रतिको आफ्नो धारणा छिट्टै परिवर्तन गर्नेवाला थिए, बस् केहि कदम हिँडेपछि।

गंगालालको प्रश्न:

खानापछि, गंगालाल र सिंह सँगै घर फर्किए। गद्दी बैठकको बाटो हिँड्दै गर्दा, गंगालालले सिंहलाई गरेको एक प्रश्नले गणेशमान सिंहको मनमा गहिरो प्रभाव पऱ्यो।

सडक बढारिरहेका दुई महिलालाई देखाउँदै गंगालालले सिंहलाई प्रश्न गरे: “ल एक छिन कल्पना गर्नोस्, ती दुइटी महिलालाई कुनै राणाले जबरजस्ती लग्यो भने, उसको पोइले केहि गर्न सक्छ?”

“राणाको त के कुरा, मैले लगेँ भने पनि उसको पोइले केहि गर्न सक्दैन”, सिंहले धाक दिए।

त्यसपछि गंगालालले उनलाई अर्को प्रश्न गरे: त्यसै गरि तपाईंका दिदी, बहिनी वा श्रीमतीलाई राणाहरूले लगेका खण्डमा पनि तपाईंले के गर्न सक्नुहुन्छ?

यो प्रश्नले उनी नाजवाफ भए। गंगालालले अघिको कुराले उत्तेजित भएर आफ्नो अपमान गर्न भनेको भन्ने ठानेपनि, त्यस प्रश्नले उनलाई निकै बिझायो। गणेशमान सिंह रातभर सुत्न सकेनन्, र बिहान हुनुअघि नै गंगालालको घर पुगे।

“हामीले केवल हीन अवस्था छ भनेर मात्र त भएन नि! त्यसबाट कसरी मुक्त हुने त्यो पनि त सोच्नपऱ्यो। तसर्थ तपाईंसँग सल्लाह गरेर हुन सक्छ भने एउटा राजनीतिक पार्टी खोलूँ भनेर म आएको हुँ”, गणेशमान सिंहले गंगालाललाई भने।

त्यस बेला राजनीतिक पार्टी खोल्नु एक अपराध थियो र देशद्रोह ठानिन्थ्यो। गंगालालले सिंहलाई श्रोतसाधन नभएको भएर पार्टी खोल्न कठिन हुने बताए। त्यसको सट्टा, दुबैले प्रजापरिषद्, एक गुप्त राजनीतिक पार्टी, खोजेर सदस्य बन्ने सहमति गरे।

घर फर्किँदा, उनी सम्झन्छन्, उनमा अनौठो विजयको भाव तरंगित भइरहेको थियो। दरबार क्षेत्रबाट हिँड्दै गर्दा यस ठाउँले देखेको मल्लहरूदेखि कोतपर्वसम्मको इतिहास उनले सम्झिए।

उनले मान्छेहरूलाई हेरे, शहरलाई हेरे, र टाढा देखिरहेको स्वयम्भूहेर्दा राणाहरूसँग लड्ने उनको अठोट झन् बलियो भयो।

यो पोस्ट साझा गर्नुहोस्

Share on facebook
फेसबुक
Share on twitter
ट्विटर